आर्थिक मन्दीको मारमा कमर्सियल गाडी बिक्री गर्ने कम्पनी, ८० प्रतिशतसम्म व्यापार डाउन

आर्थिक मन्दीको मारमा कमर्सियल गाडी बिक्री गर्ने कम्पनी, ८० प्रतिशतसम्म व्यापार डाउन
July 16, 2023

काठमाडौं। आर्थिक मन्दीका कारण कमर्सियल गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आएको छ। आर्थिक मन्दीसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण बिक्रीमा ठुलो गिरावट आएको हो।

 

सबैभन्दा धेरै मिनिबस र मिनिट्रकको बिक्रीमा भारी गिरावट आएको देखिन्छ। यातायात कार्यालयमा दर्ता भएको तथ्यांक र व्यवसायीको दाबीका आधारमा हेभी इक्विपमेन्टको बिक्री सबैभन्दा बढी छ।

 

निर्माणको कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्ट क्रेन, डोजर, एक्साभेटर र लोडरको बिक्री घटेको छ। यो वर्ष ३२९ युनिट मात्रै हेभी इक्विपमेन्ट बिक्री भएका छन्। गत वर्ष ५ सय ९४ युनिट हेभी इक्विपमेन्ट बिक्री भएका थिए।

 

यसैगरी, ट्रक, टिपर, ट्यांकर र कन्टेनरको बिक्रीमा पनि धेरै कमी आएको छ। जसमा यो वर्ष हालसम्म जम्मा ६३२ युनिट दर्ता भएको छ भने अघिल्लो आर्थिक वर्षमा ९५८ युनिट दर्ता भएको थियो। यो अघिल्लो वर्षको तुलनामा लगभग ३०० युनिट कम बिक्री भएको व्यवसायीहरु बताउँछन्।

 

तर सार्वजनिक बस र स्कुलमा प्रयोग हुने बसहरुको भने यो वर्ष बिक्री बढेको छ। यो वर्ष ५ सय २४ युनिट बस दर्ता भएका छन्। गत वर्षको सोही अवधिमा ४४७ युनिट मात्रै स्कुल र सार्वजनिक बस दर्ता भएका थिए।

 

आर्थिक वर्ष २०७८/७९ मा कमर्सियल गाडीहरुको बिक्री राम्रो भएको देखिन्छ। यातायात व्यवस्था कार्यालय, साना/ठुला सवारीका अनुसार गत आर्थिक वर्ष बसहरु ४४७ युनिट दर्ता भएका छन्। यस्तै मिनिबस/ मिनिट्रक १२ महिनामा ७८६ युनिट यातायात कार्यालयमा दर्ता भएका छन्।

 

यसैगरी, क्रेन/डोजर/ एक्साभेटर/लोडर कुल ५९४ युनिट दर्ता भएका थिए। साथै ट्रक/टिपर/ट्यांकर र कन्टेनर गरी ९५८ युनिट दर्ता भएका छन्। यस्तै पिकअप सेग्मेन्टमा ३२०६ युनिट गाडी दर्ता भएका छन्। यस्तै कुटनीतिज्ञले चढ्ने गाडी १११ युनिट दर्ता भएका छन्।

 

 

किन कमर्सियल हेभी सवारीको बिक्रीमा ८० प्रतिशत गिरावट

 

टाटाको कमर्सियल सवारीसाधन बिक्री गर्ने सिप्रदी कमर्सियलका हेड अनुमणि ढकालका अनुसार कमर्सियल विकास खर्च नभएका कारण हेभी सवारी साधनको बिक्रीमा भारी गिरावट आएको हो।

 

टाटाको कमर्सियल गाडीको बिक्रीमा ६० प्रतिशत गिरावट आएको ढकाल बताउँछन्। ‘निर्माणको काम ठप्प जस्तै छ। काम गरेकाहरुको समेत सरकारले भुक्तानी गर्न सकेको छैन,’ उनले भने, ‘नेपालमा आर्थिक मन्दी छाएको देखिन्छ।’

 

ढकालका अनुसार आर्थिक गतिविधि कम हुनुका साथै इन्धनको मुल्य बढ्दा ट्रकको बिक्रीमा पनि कमी आएको छ। ‘अहिले केही समयपछि बल्ल डिजलको मूल्यमा कमी आएको छ। आर्थिक मन्दीले व्यापार नहुँदा ढुवानी पनि कम छ,’ उनले भने, ‘यसले पनि धेरै असर गरेको छ।’

 

उनका अनुसार सामान ढुवानीमा करिब ५० प्रतिशत गिरावट आएको छ। ऋण महँगो हुँदा घरायसी निर्माण पनि घट्दा सिमेन्ट, डन्डी, इँटा, गिट्टी र बालुवाको माग नहुँदा ढुवानीमा गिरावट आएको उनको जिकिर छ।

 

 

ढकालका अनुसार बैंक ब्याजदर महँगो हुँदा राम्रो मुनाफा नहुने देखेर ट्रक किन्नेहरु हच्किएका छन्। नेपाल उद्योग परिसंघको निवर्तमान अध्यक्ष तथा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले हेभी कमर्सियल सवारीको बिक्रीमा ७० प्रतिशतभन्दा धेरै गिरावट आएको बताए।

 

‘हाम्रो हेभी इक्विपमेन्टको बिक्रीमा भारी गिरावट आएको छ,’ उनले भने, ‘निर्माणको कामले तीब्रता पाउन सकेको छैन। सबै क्षेत्रको बिजनेसको हालत खराब छ। त्यसैले हाम्रोमा पनि असर गरेको छ।’

 

अग्रवालका अनुसार राष्ट्र बैंकले सवारीसाधन कर्जाका लागि १५० प्रतिशतको जोखिम भार कायम गरेको छ। ‘यसले हेभी सवारीको बिक्रीमा धेरै गिरावट ल्याएको छ,’ उनले भने।

 

 

केसको हेभी इक्विपमेन्ट बिक्री गर्ने केस कन्स्ट्रक्सन नेपालका बिजनेस हेड अभिनभ प्रतापले हेभी इक्विपमेन्टको व्यापार ठप्पजस्तै रहेको बताए।

 

‘हामी सबै घाटामा चल्न थालेका छौं,’ उनले भने, ‘डिलरहरुलाई बचाउन कठिन भएको छ। उनीहरुलाई यो वर्ष धेरै घाटा लाग्ने अवस्थामा छन्।’ कुनै समय मासिक २६५ युनिटसम्म हेभी इक्विपमेन्ट बिक्री हुने गरेकोमा अहिले २५ युनिट मात्र बिक्री भएको प्रताप बताउँछन्।

 

‘आगामी आर्थिक वर्षमा झन् सरकारले विकासको बजेट कम गरेको छ। त्यसले हेभी इक्विपमेन्टको बिक्रीमा कमी आउने निश्चित छ,’ उनले भने, ‘नयाँ आयोजनाहरु कुनैपनि छैनन्। पुराना भएका आयोजनाको पनि निर्माण व्यवसायीले भुक्तानी पाएका छैन। यसरी कसरी हाम्रो क्रेडिट साइकल चल्छ र?’

 

कम्पनीले अहिले एस्काभेटर, लोडर ब्याकहोइ लोडर र कम्प्याक्टर मोडल बिक्री गर्दै आइरहेको छ।

 

 

कमर्सियल भेहिकलमा अग्रणी टाटाले कति बेच्यो ?

 

टाटाको कमर्सियल गाडी यो वर्ष लगभग २६०० गाडीहरु बिक्री गरेको ढकालले बताए। तर अघिल्लो वर्ष भने सिप्रदीले ७ हजार युनिटसम्म बिक्री गरेको उनको दावी छ। यो वर्ष ४ हजार जस्तो गिरावट आएको छ। यो सेग्मेन्टमा टाटाको बस, ट्रक, ट्यांकर, पिकअपहरु रहेका छन्।

 

उनका अनुसार कोभिड सकिएपछि स्कुल र कलेजले बस थपेकाले केही भरथेग भने भयो।

 

 

ढकालका अनुसार कोभिडको समयमा बाइकहरुको बिक्री बढेजस्तै कोभिडपछि बसहरुको बिक्री केही बढेको हो।

अग्रवालले पनि बसको बिक्री त्यस्तो धेरै इम्प्याक्ट नआएको बताउँछन्। बसहरुको बिक्री केही बढेको छ तर टिपर र हेभी इक्विपमेन्टको घटेको छ।

 

यस्तै अशोक लेल्यान्डको बसहरु बिक्री गर्ने आइएमई मोटर्सका मार्केटिङ एण्ड बिजनेस डेभलपमेन्ट हेड सौरन रिजाल वर्ष हालसम्म ४५० युनिटभन्दा धेरै लामो दुरीमा संचालन हुने बसहरु बिक्री भएको बताउँछन्। ‘हामीले यो वर्ष ५०० युनिट बसहरुको बिलिङ गर्ने टार्गेटमा छौं,’ उनले भने, ‘अहिलेसम्म ४५० युनिट बिलिङ भइसकेका छन्।’

 

उनले सरकारले ल्याएको २० वर्षे मापदण्डका कारण आफ्नो बसहरुको बिक्री बढेको बताए।