गुणस्तर परीक्षणमा खान अयोग्य पाइएपछि ५ महिनाअघि नेपालगञ्ज भन्सार कार्यालयले आयात रोकेको विश्वखाद्य कार्यक्रमको ५४ हजार किलो चामल साउनमा एकाएक आयात भयो । त्यसबेला नाकाकै खाद्य कार्यालयले गरेको गुणस्तर परीक्षणमा सो चामल खानयोग्य नरहेको रिपोर्ट आएको थियो । खाद्य ऐनअनुसार अखाद्य पाइएको खाद्यान्न भन्सारले पास गर्न सक्दैन ।
चामल जति धेरै समय भण्डारण गरियो, झन गुणस्तर घट्दै जानुपर्ने हो । तर, त्यही चामलको साउनमा पुनः गुणस्तर परीक्षण गरियो र खानयोग्य रहेको रिपोर्ट आएको भन्दै भन्सार पास गरियो ।
गत १८ फागुनमा अनलाइनखबरसँग कुरा गर्दै नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख नरबहादुर थापाले बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएपछि भन्सार जाँच पास नगरेको बताएका थिए ।
त्यसबेला नेपालगञ्जको गुणस्तर प्रमाणीकरण कार्यालयले चामल सडेको र अखाद्य रहेको भन्दै आयात गर्न नसकिने पत्र भन्सार विभागलाई पठाएको थियो । त्यसबेला कार्यालयका प्रमुख सन्तोष दाहालले जाँच गरिएको चामल पानीले भिजेर सडेका कारण आयात अनुमति जारी नगरेको बताएका थिए ।
तर, गुणस्तर जाँचमा फेल भएको भनेर साढे ५ महिना नेपालगञ्ज भन्सारको यार्डमा थन्किएको ३ ट्रक चामल साउन ३ गते सबै निकायको अनुमति पाई भन्सार जाँच पास भएर नेपाल भित्रिएको खुलेको छ ।
भन्सारले ३१ असारमा गुणस्तर जाँच गर्न नमुना पठाएको र परीक्षण गर्दा त्यो गुणस्तरीय नै रहेको पाइएपछि आयात अनुमति जारी गरेको गुण प्रमाणीकरण कार्यालय, नेपालगञ्जका प्रमुख सन्तोष दाहालले स्वीकार गरे । ‘चामलको गुणस्तर प्रतिवेदन हामीले ३ साउनमा भन्सारलाई दिएका हौं,’ दाहालले भने, ‘भन्सारले हामीलाई पठाएको चामलमा कुनै कैफियत थिएन ।’
यता भन्सार कार्यालय नेपालगन्जले भने खाद्यले गुणस्तरीय भनेर आयात प्रमाणपत्र जारी गरेपछि चामलको भन्सार जाँचपास भएको भन्दै आफ्नो बचाउ गरेको छ । ‘३ साउनमा चामलको भन्सार जाँच पास भएर नेपाल भित्रिएको छ,’ नेपालगञ्ज भन्सार कार्यालय प्रमुख थापाले भने, ‘हामीलाई गुणस्तर ठीक छ भनेर भनिए पछि जाँचपास गरेका हौं ।’ पहिले गुणस्तर फेल भएको चामल अहिले कसरी गुणस्तर ठिक भयो त भन्ने प्रश्नमा उनले यसबारे आफूलाई जानकारी नभएको बताए ।
कसरी भयो भन्सार जाँचपास ?
नेपालको भन्सार यार्डमा आइपुगेको चामल जसरी पनि नेपाल भित्र्याउन विश्व खाद्य कार्यक्रमका केही अधिकारीहरु ठूलो लबिइङमा लागेका थिए । चामल आयात गर्ने ठेकदारको प्रलोभनमा ती अधिकारीले भन्सार विभाग, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र चामलको गुणस्तर परीक्षण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेर चामल आयातको अनुमति दिन लबिइङ गरेको स्रोतको भनाइ छ ।
विभिन्न क्षेत्रबाट दबाब सिर्जना भएपछि उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघ, भन्सार, प्रहरी लगायतका एक दर्जन कार्याललयका प्रतिनिधि राखेर सर्जमिन मुचुल्का गरी पुनः परीक्षणकका लागि पठाइएको थियो । पुनः परीक्षणका लागि पठाउँदा नबिग्रिएको नमुना संकलन गरी पठाइएको भन्सारका ती अधिकारीले बताए । ‘बिग्रेकालाई छोडेर नबिग्रिएको चामलको परीक्षण गराइयो तर जाँचपास हुने रिपोर्ट खाद्य बाट आएपछि भते सबै चामल भित्र्याइयो,’ ती अधिकारीले भने ।
विभिन्न निकायको उपस्थितिमा मुचुल्का उठाएर नबिग्रिएको नमुनाबाट चामलको गुणस्तर जाँच गर्ने समझदारीअनुसार भन्सार जाँच पास भएको दाहालले स्वीकार गरे ।
गुणस्तर फेल भएर ५ महिना बढी थन्किएको चामल पुनः गुणस्तर जाँच गरेर आयात गरिनु गम्भीर अपराध भएको नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघले बताएका छ । त्यस्तो खाद्यान्नले मानव स्वास्थ्यमा असर पर्छ ।
‘मानिसको प्रयोगका लागि गुणस्तरहिन चामल आयात गर्न पाइन्न,’ संघका सहसचिव आलोक श्रेष्ठले भने, ‘तल्लो निकायको परीक्षणबारे समस्या भए र मुद्दा परे माथिल्लो निकायले हेर्न सक्छ तर अन्यथा दोहोर्याएर गुणस्तर पास गर्न मिल्छ जस्तो लाग्दैन ।’
गुणस्तहीन चामल आयातबारे संघले केही दिनमै औपचारिक धारणा बनाउने बनाउने बताए ।
पहिले परीक्षण गरिएको नमुनामा कैफियत रहेको डब्ल्यूएफपीको दाबी
चामल आयात गर्ने निकाय डब्ल्यूएफपीले यसअघि गत माघमा भएको गुणस्तर परीक्षणको नमुनामा कैफियत गरिएको भन्दै पुनः परीक्षणको माग गर्दै आएको भन्सार विभागले जनाएको छ । नमुना परीक्षणमा बदनियतसाथ गलत नमुना प्रयोग गरिएको भन्दै दातृ निकाय आएपछि विभागले सहजीकरण गरेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
‘व्यापारका लागि नभई दातृ निकायले नेपालकै सहयोगका लागि अनुदानमा ल्याएको चामल हो, पुनः नमुना परीक्षण गर्न सहजीकरण गरिदिनुपर्यो भन्दै विभागले तल्लो निकायमा पत्राचार गरेको हो । उताबाट के भयो जानकारी छैन,’ उनले भने ।
खाद्य ऐन २०२३ ले अखाद्य प्रमाणित भइसकेको वस्तु निकासी पैठारी र उपभोगमा रोक लगाएको छ । ऐनको उपदफा ३ अनुसार दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्न मनाही छ । ‘कुनै व्यक्तिले दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न वा सो मध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न हुँदैन,’ ऐनमा भनिएको छ ।
डब्ल्यूएफपीले नै भनेको थियो, चामल भिजेको पाइयो
डब्ल्यूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १ देखि ५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको कार्यक्रमका लागि ठेकदार कम्पनीले ५४ हजार किलो चामल माघ १७ गते इटालीबाट नेपालगञ्ज सीमा ल्याई पुर्याएको थियो ।
यसअघि दातृ निकायका वस्तुहरुको आयातित तस्तुको अनलाइन भन्सार स्वघोषणापछि परीक्षणबिनै त्यस्ता वस्तु भन्सार जाँचपास हुने गरेका थिए । तर, सामुद्रिक यात्राका क्रममा कुहिएको चामल पटक पटक भित्र्याएको विशेष सूचनापछि भन्सारले चामलको गुणस्तर जाँच गरेको थियो ।
१७ माघमा नेपालगञ्ज भन्सार आइपुगेको तीन कन्टेनर चामल जाँचपासकै क्रममा गन्हाएको पाइएको भन्सार कार्यालय प्रमुख थापाले त्यसबेला बताएका थिए । तर, अहिले सोही जाँचपासलाई बदनियत भन्दै पुनः जाँच पास गरिएको छ ।
गत फागुनमा अनलाइनखबरसँग इमेल कुराकानी गर्दै विश्व खाद्य कार्यक्रमले पनि चामलमा कैफियत देखिएको स्वीकार गरेको थियो । इमेल सम्वादमा डब्ल्यूएफपी नेपाल कार्यालयकी सञ्चार प्रमुख मोनिका उपाध्यायले चामलको गुणस्तरबारे जानकारी रहेको बताएकी थिइन् ।
‘प्रापकहरुमा स्वच्छ, स्वस्थ र प्रोटिनयुक्त खाद्यान्न पुर्याउने विषयमा हामी सचेत छौं,’ उनको जवाफ थियो, ‘सरकारी निकायबाट चामलको गुणस्तरबारे जानकारी पाउनासाथ डब्ल्यूएफपी नेपाल स्वयम्ले हेर्दा सिपिङ गरिएको चामल पानीले भिजेको पाइयो ।’
डब्ल्यूएफपी नेपालले दिवा खाजा कार्यक्रममा सहकार्य गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई यसबारे जानकारी गराइसकेको उपाध्यायले बताएकी थिइन । तर, आफैंले भिजेर बिग्रिएको भनिएको चामल डब्ल्यूएफपीले नेपालमा पैठारी गरेको छ । यसबारे कुरा गर्न उपाध्यायलाई सम्पर्क गरे पनि टेलिफोन सम्पर्क हुन सकेन ।