अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्यो कच्चा तेलको भाउ

अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्यो कच्चा तेलको भाउ
July 26, 2023

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । एक महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म बढेको छ । विगत एक महिनादेखि कच्चा तेलको मूल्य ‘ट्रेन्ड’ उकालो लागेको छ ।

 

असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा साउन ९ गते ७८ डलर कायम भएको छ । त्यस्तै ब्रेन्ट तेलको मूल्य एक महिनामा प्रतिब्यारेल ६९ डलरबाट ७८. ९ डलर पुगेको छ भने मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य महँगिदा प्रशोधित तेल आयात गर्ने नेपालमा त्यसको सिधा असर पर्ने गरेको छ ।

 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट अब मूल्य समायोजन हुनेछ । जसले गर्दा भारतबाट बढेर मूल्यसूची आउँदा एक सातापछि नेपालमा पनि मूल्य बढ्न सक्ने छ । आयल निगमले अब स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने घोषणा गरिसकेको छ ।

 

भारतले पछिल्लो समय अन्य मुलुकको तुलनामा रुसबाट सबैभन्दा धेरै परिमाणमा कच्चा तेलको आयात गर्ने गरेको छ । भारतले जुन महिनामा रुसबाट औसत दैनिक २० लाख ब्यारेल कच्चा तेल भित्र्याएको ब्यापार स्रोतलाई उदृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । रुसी तेल आयातकर्तामा हाल भारत तेस्रो ठूलो मुलुक बनेकाे छ ।