१.६२ अर्बमा खाद्यान्न भण्डारण बनाउँदै निम्बस ग्रुप, असारभित्रै सञ्चालनमा ल्याइने

१.६२ अर्बमा खाद्यान्न भण्डारण बनाउँदै निम्बस ग्रुप, असारभित्रै सञ्चालनमा ल्याइने
December 30, 2022

कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले प्रवद्र्धन गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको खाद्यान्न भण्डार केन्द्र आउँदो असारसम्म सञ्चालन गर्ने भएको छ । ३ स्थानमा भण्डारण केन्द्रहरु बनेपछि कुल क्षमता ५५ हजार टन पुग्ने छ ।

 

कम्पनीले प्रदेश नम्बर १ को सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा भण्डारण गृहको पूर्वाधार बनाइ २०७८ चैत २० गते सञ्चालनमा ल्याइसकेको छ ।

 

यसको भण्डारण क्षमता १५ हजार टन छ । सुनसरीमा रहेको भण्डारण केन्द्रमा कृषिजन्य वस्तु राख्न बुकिङ सुरु भएको छ । अहिले भण्डारण केन्द्रको बुकिङ भइरहेको कम्पनीले जनाएको छ । यस्तै मधेस प्रदेशको पर्सामा २५ हजार टन खाद्यान्न भण्डारण गर्ने केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । आउँदो चैतभित्र पर्साको भण्डारण केन्द्र सम्पन्न हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । 

 

यस्तै लुम्बिनीको कपिलवस्तुमा १५ हजार टन क्षमताको भण्डारण केन्द्र निर्माणाधीन अवस्थामा छ । हालसम्म यसको ३२ प्रतिशत काम सकिएको कम्पनीले जानकारी गराएको छ । भण्डारण केन्द्र आउँदो असारसम्म सम्पन्न गर्ने लक्ष्य नेपाल वेयर हाउजिङको छ । 

 

उक्त भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ । कम्पनीले खाद्यान्न भण्डारण गृहमार्फत कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु प्रमुख उद्देश्य रहेको बताएको छ। 

 

मुलुकको सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका सहरहरूमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषिजन्य वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताएको छ।

मुलुकको ३ स्थानमा ५५ हजार टन खाद्यान्न भण्डार गर्न निर्माण गर्न लागिएको चिस्यान केन्द्र पूर्वाधार बनाउन १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । कुल जारी पुँजीको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ प्राथमिक निष्कासन (आइपिओ) बाट जुटाउने भएको छ । 

ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको छ ।

 

नेपाल वेयरको संस्थागत र व्यक्तिगत गरी २३ संस्थापक लगानीकर्ता छन् । कम्पनीमा सबैभन्दा बढी स्वामित्व निम्बस ग्रुपको छ । निम्बसको ३६ प्रतिशत हिस्सा छ । निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडको २८ प्रतिशत सेयर छ । 

 

अन्य लगानीकर्तामा एनएमबी बैंकको ३.६४, नेपाल इन्फ्रास्ट्रक्सचर बैंक (निफ्रा) को ९ प्रतिशत सेयर छ । निफ्राले कम्पनीमा ५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको १०, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३.६४ प्रतिशत स्वामित्व छ । 

कम्पनीमा ती लगानीकर्ताहरूबाट कुल चालू पुँजी ६८.७५ करोड  रुपैयाँको ८० प्रतिशतले हुन आउने  ५५ करोडको सेयर लगानी भइसकेको छ। 

सन् २०१७ मा स्थापना भएको कम्पनी २०१८ मा आएर पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीका अध्यक्ष आनन्दकुमार अग्रवाल (बगरिया) रहेका छन् । 

 

उद्योगले धान, मकै र गहुँजस्ता खाद्यान्न बढी उत्पादन हुने तराईका क्षेत्रमा भण्डारण स्थापना गरिरहेको छ । कुल खाद्यान्न उत्पादनको ६२ प्रतिशत हिस्सा यस क्षेत्रमा रहेको कम्पनीले जानकारी दिएको छ । कृषिजन्य वस्तुका लागि खाद्यन्न शीत भण्डारणको माग बढेकाले यसबाट कम्पनीले थप लाभ पाउन सक्ने देखिएको छ ।

 

कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरूलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको पनि बताएको छ ।