भन्सारका कर्मचारीदेखि प्रहरी प्रशासनकै मिलेमतोमा हुने कर छली रोक्न गृहमन्त्री सक्रिय

भन्सारका कर्मचारीदेखि प्रहरी प्रशासनकै मिलेमतोमा हुने कर छली रोक्न गृहमन्त्री सक्रिय
January 5, 2023

काठमाडौं। भन्सार छलीले बढ्न थालेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यसलाई रोक्न सक्रिय भएर लागेका छन्। 

 

आयातमुखी अर्थतन्त्र भएको नेपालमा ठूलो हिस्सा राजस्वको छ। तर, यहाँ भन्सारका अधिकारीदेखि प्रहरी प्रशासनकै मिलेमतोमा चोरी पैठारी र भन्सार छली हुन थालेपछि गृहमन्त्री लामिछानेले छली रोक्न सक्रियता बढाएका हुन्। 

 

उनले सोमबार अर्थ मन्त्रालयका राजस्वसचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, सशत्र प्रहरीका आइजिपी राजु अर्याल, नेपाल प्रहरीका आइजिपी धिरजप्रताप सिंहलाई बोलाएर राजस्व चुहावट र चोरी पैठारी रोक्ने विषयमा छलफल गरेका छन्।

 

राजस्व चुहावट नियन्त्रणमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका हुने भन्दै उनले दुवै संगठनका प्रमुखहरूलाई पनि बोलाएका थिए। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पुर्‍याउन मातहतका कर्मचारीलाई दबाब दिइरहेका बेला गृहमन्त्री लामिछाने पनि सक्रिय भएर लागेका छन्।

 

लक्ष्यको १ खर्ब ३३ अर्ब रुपैयाँ कम राजश्व संकलन भएपछि सरकार एकाएक दबाबमा आएको हो। अर्थतन्त्रमा मन्दी देखिएसँगै राजस्व उठ्तीमा गम्भीर धक्का लागिरहेको छ। औद्योगिक उत्पादनमा ठूलो गिरावट आएको छ। बजारमा माग शून्यप्राय छ। 

 

भन्सार राजस्वबाट चल्ने मुलुक अहिले उठ्ती कम हुन थालेपछि कर्मचारीलाई तलब खुवाउनसमेत विदेशीसँग ऋण लिनुपर्ने अवस्था बनिरहेको छ। त्यही भएर राजस्व चहावटमा गृहमन्त्रीसमेत अग्रसर भएर लागेका छन्। 

 

‘प्रहरीको सहयोगबिना राजस्व चुहावट नियन्त्रण हुनै सक्दैन’ गृहमन्त्री लामिछानेले बोलाएको बैठक सकेपछि प्रतिक्रिया दिँदै एक सहभागीले भने, ‘राजस्व चुहावट नियन्त्रणका प्रहरीको भूमिका बढी हुने भएकाले पनि गृहमन्त्रीज्यूले सक्रियता बढाउनु भएको हो।’