भारतबाट कोटाको गहुँको आयात सुरु, यो वर्ष उद्योगमा कच्चा पदार्थ अभाव नहुने

भारतबाट कोटाको गहुँको आयात सुरु, यो वर्ष उद्योगमा कच्चा पदार्थ अभाव नहुने
July 26, 2023

विराटनगर । भारतले नेपाललाई २०८० सालका लागि दिएको ३ लाख टन गहुँको आयात सुरु भएको छ।

 

हिमगिरि फुड्सले भारतबाट भैरहवाको भन्सार कार्यालय हुँदै सोमबार १५८ टन गहुँको आयात गरेको हो।

 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले हिमगिरि फुड्सले सोमबार १५८ टन गहुँको घोषणा गरेको जानकारी दिए।

 

हिमगिरि फुड्स रूपन्देहीको रोहिणी गाउँपालिकामा सञ्चालित उद्योग हो। यसका सञ्चालक सञ्जय अग्रवाल नेपाल मैदा उत्पादक संघका सचिव हुन्।

 

उद्योगी अग्रवालले आफ्नो उद्योगले सोमबार भैरहवा नाका हुँदै १५८ टन गहुँको आयात गरेको पुष्टि गरे। यसप्रकार भारतले २०८० सालका लागि नेपाललाई दिएको ३ लाख टन गहुँको कोटाबाट पहिलोपटक भित्र्याउने हिमगिरि फुड्स भएको छ।

 

भारतले भारतले आन्तरिक खाद्य सुरक्षा र २०२४ को आमनिर्वाचनलाई दृष्टिगत गर्दै २०७९ वैशाख ३१ अर्थात् २०२२ मे १४ देखि गहुँको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको थियो।

 

संघका अध्यक्ष कुमुदकुमार दुगडका अनुसार भारत सरकारले नेपालको अनुरोधलाई स्वीकार गर्दै गत चैतको अन्तिम सातामा ३ लाख टन गहुँ नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो।

 

नेपाल सरकारले गत २०७९ चैतको मध्यमा भारत सरकारसित २०८० सालका लागि ३ लाख टन गहुँ उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।

 

जसअनुसार भारत सरकारले त्यहाँका गहुँका निर्यातकर्तासित तिनले सन् २०१९, २०२० र २०२१ मा नेपालमा कति परिमाणमा गहुँको निर्यात गरेका थिए भन्ने तथ्यांक लिएको थियो।

 

भारत सरकारले आफ्ना व्यवसायीसित ३ वर्षको निर्यातको तथ्यांक लिएपछि ती व्यवसायी कसले कति गहुँको निर्यात गर्न पाउने भन्ने कोटा तोकिदिएको छ।

 

भारत सरकारबाट निर्यातको स्वीकृति पाएपछि त्यहाँका व्यवसायीले नेपालका उद्योगी र व्यापारीसित प्रोफर्मा इन्भ्वाइस मगाएका थिए। यसपछि आयात सुरु भएको हो।

 

अध्यक्ष दुगडले अब नेपालका ३८ वटा मैदा उद्योगले २०८० सालमा कच्चा पदार्थको अभाव भोग्नु नपर्ने विश्वास व्यक्त गरे।

 

‘हामीले २०७९ सालभरि धेरै दुःख पायौँ’, उनले भने, ‘पिठो, मैदा, सुजी, चोकर सबै महंगोमा विक्री गर्नुपर्‍यो किनकि गहुँ नै महँगोमा खरिद गर्नुपर्थ्यो। तर यस्तो अवस्था २०८० सालमा हुँदैन भन्ने विश्वास गरेका छौं।’

 

दुगडले भारतले कोटामा उपलब्ध गराएको ३ लाख टन गहुँले नेपालको २०८० सम्मको आवश्यकतालाई पूर्ति गर्ने स्पष्ट पारे।

 

एसोसिएसनका उपाध्यक्ष एवम् मोरङको विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले भारतले नेपाललाई गत चैतमै गहुँ उपलब्ध गराउने आश्वासन दिएका कारण विगतझैँ यस वर्ष गहुँ र यसका उत्पादनको मूल्यमा वृद्धि नभएको दाबी गरे।

 

गत वर्ष भारतबाट अनधिकृत रूपमा गहुँ भित्रिएकाले गहुँ र यसका उत्पादन दुबैको मूल्य उच्च भएको थियो।

 

उद्योगी बेगवानीका अनुसार गत वर्ष यही बेला उद्योग किलोको ५५ रुपैयाँमा गहुँ किन्न बाध्य थिए। अहिले किलोको साढे ४२ देखि साढे ४३ रुपैयाँमा पाइन्छ।

 

अहिले पिठोको मूल्य किलोको ६५ रुपैयाँ छ। गत वर्ष यही बेला ७५ देखि ८० रुपैयाँ थियो। त्यस्तै गत वर्ष मैदाको मूल्य किलोको ८० देखि ८५ रुपैयाँ पुगेको थियो। अहिले ६२ रुपैयाँ छ। गत वर्ष किलोको ९५ देखि १०० रुपैयाँ पुगेको सुजीको मूल्य अहिले ७० रुपैयाँ छ। त्यस्तै चोकर मूल्य अहिले किलोको ४५ रुपैयाँ छ, गत वर्ष यही बेला ५० थियो।

 

बाबा फ्लोर मिल्सका सञ्चालक भावेश राठीले अब भारतमा गहुँको मूल्यमा हुने उतारचढावले नेपालको पनि मूल्य निर्धारण गर्ने बताए।

 

राठीको भनाइ छ, ‘अब आयात सहज छ। गत वर्षजस्तो कच्चा पदार्थका लागि भौतारिनु पर्ने अवस्था छैन। तर हाम्रो अधिकांश कच्चा पदार्थ भारतबाटै आयात हुने हुँदा मूल्यमा त्यहाँ आएको उतारचढावले नै यहाँ असर गर्ने छ।’