भारतले चामल निर्यातमा लगायो रोक

भारतले चामल निर्यातमा लगायो रोक
July 20, 2023

४ साउन, काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

 

भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।

 

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।

 

 

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ ।

 

भारतको वाणिज्य एवम् उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले बिहीबार सूचना जारी गर्दै बासमतीबाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

 

महानिर्देशनालयले बिहीबारको सूचनाअघि नै स्वीकृत भएको अर्डर वा निर्यातका लागि तयार भइसकेको चामलमा भने कुनै असर नपर्ने स्पष्ट पारेको छ।

 

समाचार एजेन्सी ब्लूमबर्गले भने भारतले चामल निर्यात गर्ने कुल संख्याको ८० प्रतिशत यो निर्णय पछि प्रभावित हुने छ। जसका कारण भारतमा भने चामलको मूल्य घट्ने तर, विश्व बजारमा भने चामलको भाउ आकासिने उल्लेख गरेको छ।

 

गत आवको जेठसम्म भारतबाट १४ अर्ब २३ करोड रुपैयाँ बराबरको २० करोड ६५ लाख किलो चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। भारतले एचएस कोड १००६३०१०/९० मा रहेको नन-बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ।

 

बढी धान फल्ने स्थानहरुमा पर्याप्त मनसुनी वर्ष हुन नसकेर उत्पादन नै प्रभावित हुने भएपछि भारतमा विगत १० दिनमा चामललगायत अन्य अन्नको भाउ २० प्रतिशतसम्म बढेको छ। तर, केही दिनयता भने मनसुनी वर्ष विस्तारै बढ्न थालेकाले धान रोपाईंले केही गति लिएको बताइएको छ।

 

भारत विश्वमा चामल निर्यात गर्ने सबैभन्दा ठूलो राष्ट्र हो। सन् २०२२ सेप्टेम्बरमा समेत भारतले कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै अरु ग्रेडका चामलहरुको निर्यातमा २० प्रतिशत कर लगाउने घोषणा गरेको थियो।

 

भारतको चामल निर्यातकर्ता संघका अध्यक्ष बीवी कृष्ण रावले सरकारले चामल निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले भारत सरकारले विभिन्न कल्याणकारी स्किमहरुमार्फत वितरण गर्नुपर्ने चामल पर्याप्त हुँदासमेत निर्यातमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन्।

 

भारतसँगै नेपालमा पनि यो वर्ष रोपाई उल्लेख्य हुन सकेको छैन। असार मसान्तसम्म देशभर जम्मा ५३ प्रतिशत मात्रै धान रोपाईं भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाईंका लागि उपयुक्त असार महिना सकिने बेलासम्म जम्मा ५३ प्रतिशत रोपाईं भएको छ।

 

गत वर्ष असार २९ गतेमसमा ६५ प्रतिशत रोपाईं भएको थियो। मनसुन सक्रिय नहुनु, रासायनिक मलको अभाव र लम्पी स्किन रोपको प्रभावका कारण यो वर्ष रोपाईंले गति लिन नसकेको कृषि मन्त्रालयको भनाइ छ।