चामल व्यवसायमा त्रिवेणी ग्रुप, त्रिवेणी राइस मिल असोजदेखि सञ्चालन हुने

चामल व्यवसायमा त्रिवेणी ग्रुप, त्रिवेणी राइस मिल असोजदेखि सञ्चालन हुने
August 25, 2023

व्यवसायिक घरना त्रिवेणी ग्रुपले निर्माण गरिरहेको त्रिवेणी राइस मिल असोजदेखि सञ्चालनमा आउने भएको छ। राइस मिल २०८० वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भएको थियो।

 

आर्थिक मन्दीलगायत कारणले गर्दा ६ महिना ढिलाइ हुन गएको उद्योगले जनाएको छ। यसअघि २०७९ देखि राइस मिलको पूर्वाधार निर्माण सुरु भएको हो।

 

त्रिवेणी ग्रुपका निर्देशक साकेत संघईले आउँदो दसैं र तिहारलाई लक्षित गरी असोजदेखि राइस मिल सञ्चालनमा ल्याउने जानकारी दिए।

 

३० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको राइस मिलबाट अमृत ब्राण्डमा प्रिमियम जिरा मसिनो र प्रिमियम सोना मन्सुली चामल उत्पादन हुने निर्देशक संघईले जानकारी दिए। उनले बजारको अवस्था हेरेर मूल्य निर्धारण गरिने बताए। यद्यपि अहिलेको भन्दा मूल्य केही सस्तो हुने उनको भनाई छ।

 

उत्पादन, व्यापार, बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत, रिटेल, शिक्षा, हस्पिटालिटी, कृषि र अटोमोबाइल क्षेत्रमा लगानी गरिरहेको त्रिवेणी ग्रुपको राइस मिल पहिलो कृषिजन्य उद्योग हो। त्रिवेणीले अमृत ब्रान्डमा केही वर्षअघिबाट खाने तेल उत्पादन गर्दै आएको छ।

 

खाद्यन्न बजार राम्रो रहेकोले पनि प्रिमियम चामल उत्पादनमा जोड रहेको संघईको भनाई छ। वीरगन्जमा अहिले मिल पूर्वाधार निर्माण भइरहेको छ। 

 

प्रतिघण्टा ८ टन धान कुट्न सक्ने क्षमता राइस मिलको छ। धान कुटेको आधारमा ५० प्रतिशत मात्र चामल हुन्छ। प्रतिघण्टा ८ टन धान कुट्दा ४ टन मात्र चामल उत्पादन हुने जनाएको छ।

 

उद्योगले नेपाली धानबाट चामल उत्पादन गर्ने नीति लिएको छ। पछिल्लो समय नेपालमा धान उत्पादन घट्दै गएको कारणले भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। अहिले ठूलो परिमाणमा भारतबाट धान आयात भइरहेको छ।

 

भारतबाट धान आयात कम गर्न किसानहरूसँग सहकार्य गरेर उत्पादन बढाउने योजना उद्योगको छ। नेपाली किसानले नै उत्पादन गरेको धानबाट नेपाली चामल बिक्री गर्ने उद्देश्य राखेको बताउँदै सरकारले पनि धान उत्पादन गर्नेहरुलाई विषेश सहुलियत दिनुपर्ने उनको भनाई छ। अहिले सञ्चालनमा रहेका राइस मिलमा ७० प्रतिशत धान भारतबाट आउने गरेको छ।

 

भारतबाट चामल निर्यातमा रोक लगाएपछि अहिले नेपाली बजारमा मूल्य वृद्धि भइरहेको छ। चामलको निर्यात बन्द भएको मौका छोपेर व्यापारीहरुले मूल्य बढाइरहेको बेला अमृत चामल बजारमा आउदा मूल्यमा केही कम हुन सक्ने अनुमान गरिएको छ।

 

ग्रुपले यसअघि त्रिवेणी दाल, रिलायन्स चिनी र टोकला चिया उत्पादन गरी बिक्री गरिरहेको छ।

 

१२ अर्ब ६५ करोडको खाने तेल व्यापार

 

त्रिवेणी ग्रुपले सञ्चालन गरिरहेको अर्को कृषिजन्य उद्योग अन्नपूर्ण भेजिटेवल प्रोडक्टस् प्रालिको खाने तेल व्यापार बढेको छ। एक वर्षमा उद्योगले १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँको खाने तेल कारोबार गरेको छ।

 

२०२१ मा उद्योगले ११ अर्ब ७ करोड रुपैयाँको मात्र खाने तेल व्यापार गरेको थियो। यस्तै सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँको तेल व्यापार गरेको थियो। उद्योगले भटमास, सनफ्लावर, पामआयल प्रशोधन गरी बजारमा पठाउने गरेको छ।

 

खाने तेलको वार्षिक उत्पादन क्षमता ६० हजार, वनस्पती घिउको ७ हजार र तोरीको तेल उत्पादन क्षमता १० हजार टन छ।
विशाल ग्रुपसँगको साझेदारीमा त्रिवेणीले १ सय ८० मेगावाटको कालिगण्डकी गर्ज अर्धजलासय आयोजना बनाउन लागेको छ।

 

यो आयोजना बनाउन आयोजना बनाउन ३९ अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३ सय १३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।

 

जसअनुसार वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ।

 

ग्रुपको लगानीमा ५४ मेगावाटको लिखु–४ आयोजना सञ्चालनमा छ। यस्तै निर्माणधिन ८२ मेगावाटको तल्लो सोलु आयोजनाको स्वामित्व पनि ग्रुपले खरिद गरेको छ।