डाबर नेपालको आम्दानी १३ अर्ब, क्षमता विस्तारका लागि साढे ६ अर्ब कर्जा

डाबर नेपालको आम्दानी १३ अर्ब, क्षमता विस्तारका लागि साढे ६ अर्ब कर्जा
April 2, 2023

छिटो खपत हुने खाद्यवस्तु उत्पादक कम्पनी डाबर नेपालले सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनकिो आम्दानी २१.७१ प्रतिशतले बढेको हो ।

सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ६९ करोड ५० लाख रहेको थियो । सन् २०२२ मा उक्त आम्दानी बढेर १३ अर्ब बढी पुगेको हो ।

 

डाबर इन्डिया नेपालको लगानीमा सन् १९८९मा स्थापना भएको कम्पनीले जुस, चवनपरस, ग्लुकोज, दन्तमञ्जन, हेयर आयल, मह र हाजमोला उत्पादन गर्दै आएको छ । कम्पनीमा डाबर इन्डियाको ९७.५० प्रतिशत सेयर हिस्सा रहेको छ ।

 

कम्पनीले ‘रियल’ ब्रान्डनामबाट ४० भेराइटीका जुसहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यस्तै ‘डाबर’ ब्रान्डनामबाट चवनपरस, ग्लुकोज, दन्तमञ्जन, अमला हेयर आयल, हाजमोला र महको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ‘वाटिका’ ब्रान्डनामबाट स्याम्फु, हेयरआयलको बिक्री वितरण गर्दै आएको छ ।

 

डाबर नेपाल डाबर इन्डियाको भगिनी संस्था हो । कम्पनीले नेपालमा छिटो खपत हुने खाद्यवस्तु उत्पादन गरी विभिन्न देशहरुमा निर्यात गर्दै आएको छ । सन् २०२२ मा मात्रै कम्पनीले ८ अर्ब २० करोड ५० लाख बराबरको निर्यात गरेको छ । नेपालको कुल निर्यातको ४.१० प्रतिशत हिस्सा डाबर नेपालले ओगटेको छ ।

 

नेपालभर कम्पनीका ३०० बढी वितरक र १ लाख बढी खुद्रा पसल रहेका छन् । विविध खाद्य वस्तु तथा हेल्थकेयर, पर्सनलकेयरका लागि आवश्यक पर्ने वस्तुको उत्पादन गर्दै आएको डाबर नेपालद्धारा उत्पादित वस्तुहरुको माग नेपालभर रहेको छ ।

 

कम्पनीले क्षमता विस्तारका लागि ६ अर्ब ६० करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले ए१ प्लस रेटिङ गरेको छ । कम्पनीको आम्दानीमा भएको निरन्तर वृद्धिका कारण कम्पनीको वित्तीय छवि बलियो रहेको छ ।