डाबर नेपाललाई सुकुमेल आयातमा आधाभन्दा बढी छुट, अन्यलाई चर्को शुल्क, थन्कियो भन्सारमा

डाबर नेपाललाई सुकुमेल आयातमा आधाभन्दा बढी छुट, अन्यलाई चर्को शुल्क, थन्कियो भन्सारमा
February 15, 2023

वीरगंजको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले डाबर नेपालले आयात गरेको सुकुमेलमा प्रति किलो साढे ५ डलरको मूल्यांकनलाई मान्यता दिएपछि व्यावसायिक आयातकर्ताले आफूमाथि भन्सारले विभेद र पक्षपात गरेको आरोप लगाएका छन्। अन्य व्यवसायीलाई भने साढे १२ डलर ठटाइँन्छ।

 

डाबर नेपालले उक्त कार्यालयमा गत माघ १९ गते १० टन सुकुमेल प्रति किलो साढे ५ डलरमा आयात गरिएको कागजात दर्ता गरेको थियो। उक्त मूल्यांकनलाई मान्यता दिँदै कार्यालयले माघ २२ गते सुकुमेलको जाँचपास गरेको थियो।

 

कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले डाबर नेपालले प्रति किलो साढे ५ डलरको मूल्यांकनमा १० टन सुकुमेल जाँचपास गरेको पुष्टि गरे।

 

वीरगंज र विराटनगर भन्सारस्थित भन्सार कार्यालयले यसअघि ती नाकाबाट आयात गरिएको सुकुमेलमा आयातकर्ताले न्यून विजकीकरण गरेको ठहर्‍याउँदै प्रति किलो साढे १२ डलरको मूल्यांकन राखेर मात्र जाँचपास गरेका थिए। दुवै भन्सार कार्यालयले आयातकर्तालाई साढे १२ डलरका हिसाबले हुने महसुलको ५० प्रतिशत जरिवाना र त्यसमा मूअकरसमेत तिराएका थिए।

 

मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनका अनुसार यसरी जरिवाना तिरेर जाँचपास गर्नुपरेको सुकुमेल प्रति किलो साढे ५ देखि साढे ८ डलरको मूल्यमा आयात गरिएको थियो।

आयातकर्ता जैनले भने, ‘कार्यालयले पहिले त कारोबार–मूल्यलाई नै मान्यता दिएको थियो। र, हामीले कारोबार–मूल्यमै राजस्व तिरेर माल छुटाएका थियौं। तर पछि फेरि कार्यालयले हामीलाई विभागको निर्देशन भन्दै प्रति किलो साढे १२ डलरका दरले राजस्व र जरिवानासमेत तिर्न पत्र पठाएको छ।’

 

जैनका अनुसार भन्सार विभागले तयार पारेको सन्दर्भ मूल्यसूची (डाटा बेस) मा सुकुमेलको मूल्यांकन प्रति किलो साढे १२ डलर तोकिएको छ। विभागले यसैलाई आधार बनाएर कारोबार मूल्यलाई मान्यता नदिई व्यवसायीलाई थप आर्थिक भारमा पारेको हो।

सूचना अधिकारी न्यौपानेले डाबर नेपालले आफूले निर्यात गर्ने उत्पादनका लागि कच्चा सामग्रीका रूपमा सुकुमेलको आयात गरेको जिकिर गरे।

न्यौपानेको भनाइ थियो, ‘डाबर नेपालले उक्त सुकुमेल बैंक ग्यारेन्टीमा छुटाएको हो। निर्यातमूलक उद्योगले बन्डेड वेयर हाउसको सुविधाअन्तर्गत बैंक ग्यारेन्टीमा कच्चा सामग्री छुटाउँछन्। उद्योगले उत्पादित वस्तुको निर्यात गरेपछि त्यसमा प्रयोग गरिएको कच्चा सामग्रीमा तिरिएको राजस्व फिर्ता पाउँछ।’

 

उनले निर्यातमूलक उद्योगको बैंक ग्यारेन्टीमा जाँचपास हुने कच्चा सामग्री भएको हुँदा भन्सार विभागको रायअनुसार प्रति किलो साढे ५ डलरको मूल्यमा जाँचपास भएको जानकारी दिए।

व्यापार संघका अर्का पूर्व अध्यक्ष एवम् आयातकर्ता शंकरलाल अग्रवालले भन्सार विभाग र कार्यालयले मालवस्तुको जाँचपासमा दोहोरो मापदण्ड कायम गरेर भन्सार ऐनको ठाडो उल्लंघन गरेको आरोप लगाए।

 

व्यवसायी अग्रवालका अनुसार भन्सार ऐनको दफा १३ ले भन्सार कार्यालयले आयातित मालवस्तुको कारोबार मूल्यलाई मान्यता दिनुपर्ने भनी किटान नै गरेको छ। आयातकर्ताले न्यून विजकीकरण गरेको लागेमा भन्सार कार्यालयले त्यसलाई खरिद गर्नसक्ने सम्मको प्रावधान ऐनमा छ। तर, सुकुमेलको जाँचपासका सन्दर्भमा विभाग र कार्यालयले उक्त कानुनी व्यवस्थाको ठाडै अटेर गरेका छन्। र, यस प्रकरणमा व्यावसायिक दृष्टिले आयात गर्ने व्यवसायीलाई विभेद र पक्षपात भएको छ।

 

अर्का आयातकर्ता पंकज दुगडको प्रश्‍न छ, ‘अहिले ग्वाटेमाला र दुबईमा सुकुमेलको मूल्य प्रति किलो साढे ५ डलर छ। डाबर नेपालले घोषणा गरेको यही मूल्यलाई वीरगंजको सुक्खा बन्दरगाह भन्सारले मान्यता दिएको छ। तर, साढे ५ देखि साढे ८ डलरको मूल्यमा आयात गर्ने व्यवसायीलाई चाहिँ किन न्यून विजकीकरणको आरोप लगाइयो ?’

व्यवसायी दुगडले अन्तर्राष्ट्रिय बजारमा हरेक मालवस्तुको मूल्यमा थपघट भइरहने जिकिर गर्दै बर्सौंसम्म एउटै मूल्यांकनमा मालवस्तुको जाँचपास गर्नु अवैज्ञानिक र अव्यावहारिक भएको टिप्पणी गरे।

 

आइसीपीको गोदाममा थुप्रियो सुकुमेल

व्यवसायी र भन्सार कार्यालयका बीच कारोबार मूल्यको कुरा नमिल्दा विराटनगरको आइसीपीमा २० टनभन्दा बढी सुकुमेल आएर थन्किएको छ ।

व्यवसायीहरू कारोबार मूल्यको कुरा नटुंगिएसम्म उक्त सुकुमेल छुटाउने पक्षमा छैनन्।

भन्सार एजेन्ट सुरेश बोहराका अनुसार आइसीपीको गोदाममा उक्त सुकुमेल थन्किएको २ हप्ताभन्दा बढी भइसकेको छ। व्यवसायीहरू सुकुमेल गोदाममा थन्क्याएर अर्थमन्त्रालय र भन्सार विभागमा लबिङ गरिरहेका छन्।

 

बोहराले भने, ‘आयातकताको अर्को आपत्ति जरिवाना र त्यसमा लाग्ने मूअकरप्रति हो। उनीहरूको कुनै गल्ती नै छैन र उनीहरूले न्यून विजकीकरण गरेका होइनन् भने किन जरिवाना तिर्ने ? जरिवानाले लागत पनि बढाउँछ।’

आइसीपीको गोदाममा थन्क्याइएको सुकुमेल कुन–कुन व्यवसायीको हो भन्ने उनले खुलाउन चाहेनन् ।

 

ADVERTISEMENT

 

May be an image of food and text

No photo description available.

May be an image of text

 

For More Updates 

Nepal Commodity Logo