काभ्रे — राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई बनेपा नगरपालिका-७ मा प्रहरीले नियन्त्रणमा लिएको छ ।
धुलिखेल नगरपालिका-२ का ३७ वर्षीय चालक राजु तिमिल्सिनालाई चिनीसहितका ना ६ ख ६२१९ नं को ट्रक बिहीबार दिउँसो १:३० बजेतिर नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, धानको बोराले छोपी ल्याएको ९२ बोरा अन्दाजी ५ लाख ९८ हजार रुपैयाँको चिनी र २८ बोरा अन्दाजी ४२ हजार रुपैयाँको धान बरामद भएको छ ।
सवारी जाँच गर्ने क्रममा सवारी चालकसँग कुनै पनि कागजात नभएकोले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको ना ६ ख ६२१९ नं को ट्रकमा रहेको चिनी र धान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।