कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का

कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का
January 2, 2023

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का पुगेको छ । कोरोना महामारी र रुस-युक्रेनबीचको द्वन्द्वले कच्चा पदार्थ र डलरको भाउ आकासिँदा अधिकांश उद्योगको नाफामा धक्का पुगेको हो ।

डलरको भाउ र कच्चा पदार्थको मूल्यले इतिहास कायम गर्दा बजारमा अधिकांश वस्तुको मूल्य बढेको छ । साथै, कम्पनीको व्यापारमा पनि ठूलो धक्का पुगेको तथ्याङ्कले देखाउँछ ।

 

उद्योगहरुले कच्चा पदार्थ आयातका लागि डलर खर्चिनुपर्छ । एकातिर कच्चा पदार्थको मूल्य बढेको छ भने अर्कोतर्फ कच्चा पदार्थ खरिद गर्नका लागि आवश्यक डलरको भाउ पनि महँगो बन्दा थप भार परेको पाइन्छ ।

 

विश्वका उत्पादनजन्य उद्योगका लागि सबैभन्दा अत्यावश्यक कच्चा पदार्थको हो, कोइला । कोभिड र द्वन्द्वको असरले कोइलाको मूल्यले इतिहास कायम गरेको थियो । यसको प्रत्यक्ष असर उत्पादनजन्य उद्योगमा प्रभाव परेको छ ।

 

कोरोनाअघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिटन कोइलाको मूल्य ५० डलरदेखि ९० डलरसम्म कायम भएको थियो । तर, कोभिडपछि विश्वबजारमा सप्लाई चेन नमिल्दा कोइलाको मूल्य निरन्तर बढेको देखिन्छ । जसमा कोभिडपछि सन् २०२१ मा कोइलाको मूल्य प्रतिटन २७० कायम भएको थियो । त्यसपछि कोइलाको मूल्य घटबढ भइ सन् २०२२ को मार्चमा कोइलाको प्रतिटन मूल्यले उच्च मूल्यको रेकर्ड राखेको थियो । सोबेला प्रतिटन कोइलाको मूल्य नै ४३० डलरसम्म पुगेको थियो ।

 

कोभिडका कारण बढ्दै गएको कोइलाको भाउमा रुस–युक्रेनबीचको द्वन्द्वले थप मूल्य वृद्धि भएको छ । युद्धपछि यसको मूल्य प्रतिटन नै ४७५ डलर पुगेको थियो । साथै, डलरको भाउ पनि निरन्तर बढेर इतिहास कायम गरेको थियो । उक्त डलर भाउ र कच्चा पदार्थको मूल्य बढ्दा नेपालका उद्योगमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ ।

 

नेपालका अधिकांश उद्योगहरुले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी आवश्यक वस्तु उत्पादन गर्दै आएको छ । उक्त उद्योगहरुले कोभिडकै समयमा उच्च व्यापार गरेपनि कच्चा पदार्थ र विनियम दरको मूल्यले गर्दा मूल्यमा निकै असर परेको जनाएको छ । साथै, उच्च व्यापार भएपनि नाफामा भने कमी आएको कम्पनीहरुको भनाइ छ ।

 

बजारमा अधिकांश क्षेत्रमा बढ्दो प्रतिस्पर्धा छ । उच्च प्रतिस्पर्धात्मक बजारमा कच्चा पदार्थ र डलरको भाउले गर्दा उद्योगको नाफामा निकै चुनौती थपिएको कम्पनीहरुले उल्लेख गरेको छ । त्यसैगरी, कम्पनीहरुले कोभिडको समयमै उच्च व्यापार गरेपनि कोभिडअघिको तुलनामा नाफा भने घटेको देखाउँछ ।

 

तेल उद्योगमा पनि कच्चा मूल्यवृद्धिले नाफा प्रभाव पारेको छ । कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । त्यसको प्रत्यक्ष असर नेपाली उद्योगको नाफामा पनि देखिएको छ ।

 

बाबा भेजिटेबल आयल उद्योगले हालसम्मकै बढी तेलको व्यापार गरेको छ । तर, नाफामा भने घटेको छ । विगतको दिनमा करिब १३ प्रतिशतसम्म नाफा कमाएको कम्पनीको नाफा कच्चा पदार्थको मूल्य बढ्दा १० प्रतिशतमा सिमित भएको कम्पनीको भनाइ छ ।