कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनी माथि मुद्दा दायर

कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनी माथि मुद्दा दायर
August 24, 2023

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

 

भरतपुर महानगरपालिका–४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो ।

 

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए ।

 

उनीहरुलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए ।

 

उनीहरुलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद मागदाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।

 

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिक दानाको नमूना सङ्कलन गरी २८ वटा कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीका लागि कारबाहीका लागि सिफारिस गरिएको छ ।

 

चिया र मह उत्पादन गर्ने कम्पनीलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि विभाग पठाइएको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय वटा विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ । अधिकारीका अनुसार तत्काल अनुगमन १६ पटक गरिएको छ ।

 

पचासी पटक खाद्य बजार अनुगमन, दाना बजार अनुगमन २४ पटक, होटल अनुगमन ६० वटा, खाद्य उद्योग ५९ वटा, १४ वटा दूध, तेल तथा पानी उद्योग अनुगमन गरिएको उनले जानकारी दिए ।

 

त्यसैगरी कार्यालयले हाटबजार तथा मेला महोत्सवको आठ पटक अनुगमन गरेको छ । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उनले बताए ।

 

स्थानीय पालिकासँगको समन्वयमा गुनासो आएका स्थानको निरीक्षण अनुगमन गरिएको उनको भनाइ छ ।