सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको वाणिज्य आपूर्ति तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिए ।
मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने निर्णय भएको उनले बताए । तर, कसरी र कहिले ल्याउनेबारे भने मन्त्रालयले निर्णय गर्नेछ ।
भारतले चामल निर्यातमा रोक लगाएपछि केही दिनअघि मुख्य सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
त्यसक्रममा मुख्य सचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए ।
नेपाल चामल, तेल, दाल उद्योग संघले १० लाख टन धान आयात गर्न सरकारसँग माग गरेको थियो । संघका अध्यक्ष कुमुदकुमार दुगड सरकारले भारतसँग धान खरिद गर्न सके चामल प्रतिवन्धको असर नपर्ने बताउँछन् ।
उनले चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताएका थिए ।
उनले नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने बताए । उनले सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने बताए । उनले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने बताए ।
धान नल्याए चाँडपर्वको बेलामा चामल अभाव हुने उनको भनाइ छ । नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको उनको भनाइ छ ।
अध्यक्ष दुगडले नेपालमा ५५ लाख टन धान उत्पादन हुन्छ भन्ने सरकारको तथ्याङ्क रहेपनि तथ्याङ्क अनुसार परिमाण नदेखिएको बताए । उनले ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुने तर यकिन डेटा नभएर समस्या रहेको बताए । उनले सरकारी डेटा र चामलको खपत हेर्दा म्याच नभए पनि नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुने गरेको बताए ।
भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिवन्ध घोषणा गरेको हो ।
दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिवन्धको सोझो र गहिरो असर नेपालमा पर्नेछ । नेपालमा आवश्यक धानचामलको करिव २१ प्रतिशत भारतबाट आयात हुने गरेको संघले जनाएको छ । सरकारले हरेक दिन कम्तीमा १० करोड मूल्यको धानचामल आयात गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धानचामल आयात भएको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपैयाँको कृषि वस्तु आयात गरेको थियो ।