नेपालमा बजारमाग जिरा मसिनोको, तर भारतद्वारा ६५ हजार टन मोटा चामल निर्यात अनुमति

नेपालमा बजारमाग जिरा मसिनोको, तर भारतद्वारा ६५ हजार टन मोटा चामल निर्यात अनुमति
December 26, 2023

विराटनगर। भारतबाट नेपालका व्यवसायीले ६५ हजार टन मोटा चामल आयात गर्न पाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नेपाली व्यवसायीले मोटा चामल आयात गर्न पाउने जानकारी गराएको हो।

 

मन्त्रालयले आइतबार परिपत्र गर्दै भारत सरकारबाट नेपाल निर्यातका लागि नन् बास्मती ह्वाइट राइसको अनुमति भएको उल्लेख गरेको छ। परिपत्रमा नेपालका आयातकर्ताले फर्स्ट कम फर्स्ट सर्भिसका आधारमा चामलको आयात गर्न पाउने जनाइएको छ।

‘यसका लागि फर्स्ट कम फर्स्ट सर्भिसको विधि अपनाइनेछ र चामलका लागि सबैभन्दा पहिले आवेदन दिने नेपाली कम्पनीलाई प्राथमिकतामा राखिनेछ,’ परिपत्रमा भनिएको छ।

 

एक नेपाली कम्पनीले बढीमा ५ हजार टन चामल मात्र आयात गर्न पाउने छ। आयातकर्ताले भारतबाट यस्तो चामल खरिद गर्ने हो भने भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडसँग समन्वय गर्नु पर्नेछ।

 

भारत सरकारले गत कात्तिकमा नेपाललाई ९५ हजार टन नन बास्मती ह्वाइट राइस दिने निर्णय गरेको थियो। जसमध्ये ३० हजार टन भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराउनेछ। बाँकी ६५ हजार टन चामल नेपालका व्यवसायीले भारतको सरकारी सहकारीसित खरिद गरेर ल्याउनु पर्नेछ।

 

चामलका उत्पादक तथा आयातकर्ता भने भारतले नेपाली व्यवसायीलाई नन् बास्मती ह्वाइट राइसको आयात गर्न दिएर खासै गुन नगरेको प्रतिक्रिया व्यक्त गरेका छन्।

 

नेपाल चामल, तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले सन् २०२४ का लागि भारतले नेपाललाई १० लाख टन धान उपलब्ध गराए मात्र त्यसको अर्थ र महत्त्व हुने बताए। नेपालका व्यापारीले भारतको सरकारी सहकारीसित ६५ हजार टन मोटा चामल खरिद गर्ने कुरामा शंका रहेको उनको भनाइ छ।

 

नेपालमा मोटा चामलको आयात गर्नुपर्ने स्थिति नभएको दाबी उनले गरे। ‘यो हाम्रा लागि खासै उत्साहप्रद र सकारात्मक समाचार होइन,’ उद्योगी दुगडले भने, ‘भारतले बरु धान दिने निर्णय सुनाएको भए उचित हुने थियो। नेपालका चामल उद्योगसित अब २ महिनालाई पुग्ने धान मात्रै छ। त्यसपछि यहाँका अधिकांश धानचामल उद्योग बन्द हुनेछन्। अनि अवैध आयात भएको चामलले बजार पाउनेछ। त्यसैले नेपाल सरकारले भारतसित २०२४ मा १० लाख टन धानको प्राप्तिका लागि पहल गर्नुपर्छ।’



नेपालमा ठुला स्तरका चामल उद्योग ५० वटा र साना र घरेलु स्तरमा ५ सयको संख्यामा भएको जानकारी दिँदै उनले यही अवस्था रहेमा धानको अभावमा फागुनदेखि सबै उद्योग प्रभावित हुने बताए।

 

नेपाललाई भारतको मोटा चामल नचाहिने प्रतिक्रिया आयातकर्तामध्येका सेन्चुरी फुडका सञ्चालक राजेन्द्र अग्रवालको छ। उनका अनुसार नेपाललाई भारतको जिरा मसिनो चामल चाहिएको छ। नेपालमा जिरा मसिनो चामलको माग अत्यधिक छ।

 

भारतले त्यहाँका जनतालाई रासनमा वितरण गर्ने मोटा चामल नेपाललाई दिन लागेको उनले बताए। उनले भने, ‘नेपाल मोटा चामलमा लगभग आत्मनिर्भर छ, भारतबाट मगाइरहनु पर्दैन। चाहिने भनेको जिरा मसिनो चामल हो। भारतको रासनमा वितरण गरिने चामल नेपालका उपभोक्ताले रुचाउँदैनन्।’

 

भारतले नेपालका व्यवसायीले त्यहाँको सहकारीबाट मात्र आयात गर्न पाउने निर्णय गरेको उल्लेख गर्दै यसको प्रक्रिया लामो र झन्झटिलो हुने टिप्पणी उनले गरे।