निर्माण सामाग्री पठाएको बिल पनि आयो तर सामान आएन...यसरी ठगिंदैछन् निर्माण व्यवसायी

निर्माण सामाग्री पठाएको बिल पनि आयो तर सामान आएन...यसरी ठगिंदैछन् निर्माण व्यवसायी
June 23, 2023

फेसबुक चलाउँदै गर्दा हिमाल -परिवर्तित नाम_  को आँखा एउटा विज्ञापनमा अडियो। बागमति सप्लायर्स कम्पनि प्रा=लि ले पोष्ट गरेको विज्ञापन यस्तो थियो, …के तपाईँ निर्माणका सम्पूर्ण सामाग्रि एकै ठाउँमा नपाएर हैरान हुनुहुन्छ? यदि हो भने बागमति सप्लायर्स प्रा=लि मा अत्याधुनिक मेसिनबाट निर्मित सम्पूर्ण खालका निर्माणका सामाग्री एकै ठाउँमा सुपथ मूल्यमा पाइन्छ===।’ निर्माण व्यवसायी समेत रहेका हिमाललाई सडक कालोपत्रेका लागि बिटुमिन चाहिरहेको थियो। फेसबुकमा भेटिएको आकर्षक विज्ञापन उनलाई ‘ढुंगा खोज्दा देउता भेटे झैं’ भयो। विज्ञापनमा उल्लेख गरिएको नम्बरमा फोन गर्दा सबै कुरा ढुक्क भएपछि उनले आफ्नो काम भइरहेको साइडमा २२ लाख बढीको बिटुमिन खरिदका लागि अर्डर गरे र अग्रिम भुक्तानि स्वरुप ५ लाख सप्लायर्सले उल्लेख गरेको राष्ट्रिय वाणिज्य बैंकमा रहेकाे गाैंमुखि ग्रुप अफ इन्डष्ट्रिजकाे खातामा समेत पठाए। उताबाट सामान पठाइसकेको भनि विल विजकको फोटो समेत आयो तर सामान भने आएन। सम्पर्क भइरहेको कुनै पनि नम्बरमा सम्पर्क हुन छोडेपछि बल्ल हिमालले आफू ठगिएको थाहा पाए।

ठगिका लागि प्रयाेग भएकाे विज्ञापन



हिमाल त एक प्रतिनिधि पात्र मात्र हुन्। सामाजिक सञ्जालमा निर्माण सामाग्री बिक्रिमा रहेको भनि विज्ञापन पोष्ट गरी बैंक खातामा रकम पठाउन लगाएर सम्पर्क बिहीन हुने व्यक्तिबाट धेरै निर्माण व्यवसायी, हार्डवेयर व्यवसायी र सर्वसाधारण ठगिएका छन्।

बागमति सप्लायर्स कम्पनी प्रा=लि, गौमुखि ग्रुप अफ इन्डस्ट्रिज प्रा=लि र मनकामना ग्रुप अफ इन्डस्ट्रिज प्रा=लि को सञ्चालक रहेको भनि मानिसलाई ढुक्क बनाएर ठगि गर्ने प्युठान झिमरुक गाउँपालिका–६ घर भएका ४२ वर्षीय गाेपाल कामी भन्ने इश्वरी प्रसाद पोखरेल यतिबेला ठगिको आरोपमा पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ। अनुसन्धान कार्यालयका अनुसार पोखरेल विरुद्ध आएको जाहेरी संकलन गरी उनलाई आज महानगरीय प्रहरी परिसर टेकुमा बुझाउने तयारी छ। पोखरेलद्वारा गठिमा परेका अन्य व्यवसायी तथा सर्वसाधारणलाई पनि यथाशिघ्र उजुरी दिन अनुसन्धान कार्यालयले जानकारी गराइरहेकाे छ। 

पोखरेल पक्राउ परेको जानकारी पाएसँगै धेरै निर्माण व्यवसायी आफूपनि त्यस कम्पनी तथा व्यक्तिबाट पीडित भएको भन्दै जाहेरी दिन अपराध अनुसन्धान कार्यालय पुगेका छन्। हिमालले पनि आफू ठगिएको थाहा पाएपछि बुझ्दै जाँदा ठगि गर्ने व्यक्ति पक्राउ परेको भन्ने खबर पाएसँगै उक्त व्यक्तिलाई कारबाही र आफूलाइ क्षतिपूर्तिको मागदाबी गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन्। गुणस्तरीय सामान र उधारोमा ढुवानीको आशाले आफू नमिठोसँग फसेको निर्माण व्यवसायी हिमालले बताए।

पाेख्रेलले हालसम्म देशभरका १० जिल्लाभन्दा बढीका कयाैं निर्माण व्यवसायी, हार्डवेयर व्यवसायी र सर्वसाधारणलाइ ठगि गरिसकेकाे पाइएकाे छ।

यस्तो थियो पोखरेलको ठगि शैली
निर्माण व्यवसायी, हार्डवेयर व्यवसायी तथा निर्माण क्षेत्रलाई लक्षित गरी निर्माण सामाग्रीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा पोष्ट गर्ने। विज्ञापन देखेर फोन आएपछि आफ्नो कम्पनी, सामाग्री र आफूप्रति यति ढुक्क बनाउने कि कुनै शंका गर्ने ठाउँ नै नदिने। सामान पठाउनुअघि केही रकम भुक्तानि गर्न लगाउने। त्यसपछि तपाइँको सामान पठाएँ भनेर बिल बिजकको फोटो समेत पठाउने, सामान पठाउन लागेँ, गाडीमा लोड हुँदैछ भनेर खबर गरिरहने, गाडि यहाँ आइपुग्यो, बाटोमा गाडि बिग्रियो, गाडि दुर्घटना भयाे, गाडि आउँदैछ, यति समय लाग्छ भन्दै ड्राइभर बनेर पनि पटक पटक सम्पर्क गरी ढुक्क बनाइराख्ने र अन्तिममा तपाइँको सामान आइपुग्यो लोकेशनमा आउनुस् भनेर कल गर्ने त्यसपछि लोकेशनमा पुग्दा न सामान छ न त्यसपछि कुनै फोन नै लाग्छ। 

विज्ञापनको लागि प्रायोग भएको फेसबुक पेजको नाममा भएको कम्पनीदेखि सम्पर्कबिहीन हुँदासम्मका कारोबारमा फरक फरक गरी तीन वटा कम्पनीको प्रयोग, सबै आफ्नै कम्पनी भएकोले फरक नपर्ने बताउने तर अन्तिमसम्म ढुक्क बनाएर सामान आएकाे खबर दिने गरेका थिए। उनले ठगि कार्यका लागि विभिन्न समयमा फरक फरक फाेन नम्बरकाे प्रयाेग गर्ने गरेकाे र नाम समेत गाेपाल कामी, सराेज पाठक, सराेज पाैडेल, विष्णु खनाल...लगायत  प्रयाेग गर्ने गरेकाे पाइएकाे छ। 

ठगिका लागि प्रयाेग भएकाे फेसबुक पेज र आइडि

photo 41687324047.jpg

सकेसम्म आफू अगाडि नआउने, अनलाइनबाट पैसा पठाउन लगाउने पाेखरेलले केही पीडितसँग भने भेटेर कफि समेत खाएकाे र केहीलाइ भने भेट्न स्टाफ पठाएकाे पनि प्रहरीमा परेकाे जाहेरीमा उल्लेख छ।

केही पीडितलाई भने बाटोमा गाडि पल्टिएको भनेर सम्पर्कबिहीन हुने, कसैलाई अन्तिममा आएर उल्टै धम्की दिने गरेको समेत प्राप्त भएको जाहेरीमा उल्लेख भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

पाेखरेलले कानुनी रूपमै कम्पनी दर्ता, बैंक खाता सञ्चालन, सिम खरिद लगायतका अधिकांश काममा काभ्रे जिल्लाबाट जारी भएकाे गाेपाल कामीकाे नागरिकता र नाम प्रयाेग गर्ने गरेकाे खुलेकाे छ। उनले कुनै कम्पनी वा व्यक्तिलाइ ठगि गरेपछि उजुरी परेर बैंक खाता राेक्का भए तुरून्तै अन्य बैंकमा नयाँ खाता खाेलेर ठगि कार्यलाइ निरन्तरता दिइरहेकाे पाइएकाे छ। हालसम्म उनले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मि बैंक, कुमारी बैंक लगायतका बैंककाे देशका विभिन्न शाखामा कम्पनीकाे नामबाट खाता खाेलेर प्रयाेग गरिसकेका छन्। 
 

हिमाललाइ पठाइएकाे बिटुमिनकाे विल बिजककाे फाेटाे 

IMG-20230616-WA00041687318185.jpg

 

एकापट्टि सरकारले समयमा भुक्तानी नदिने अर्कोतिर सप्लायर्स कम्पनीले उधारोमा सामान नदिने तर निर्माण व्यवसायीले असार मसान्तसम्म काम सक्नै पर्ने नसके म्याद थपकाे लागि सम्बन्धित कार्यालयले दुख दिने हुँदा समस्यामा परेका निर्माण व्यवसायीले उधारोमा सामान पाउने ठाउँ खोज्न बाध्य छन्। यसरी उधारोमा सामान पाउने आशामा अग्रिम भुक्तानी समेत ठगिको हातमा पर्दा निर्माण व्यवसायी मारमा परिरहेका छन्। निर्माण व्यवसायीको कमजोरीको फाइदा केही ठगि धन्दाका व्यक्तिहरुले नमिठोसँग उठाइरहेको निर्माण व्यवसायीहरुको तितो अनुभव छ।

एक दुई जना ठगलाई कारबाही गर्नु र क्षतिपूर्ति भराउनु मात्र यसको समाधान भने होइन्। जबसम्म राज्यबाट पाउनपर्ने भुक्तानि समयमा पाउने परिपाटि बन्दैन, दर्ता भइ सञ्चालनमा रहेका कम्पनीकाे काम कारबाही र काराेबारमाथि निगरानि राखेर यस्ता ठगि नियन्त्रणका लागि पहल कदमी गरिँदैन तबसम्म सजिलो उपाय खोज्ने हुँदा विभिन्न बाहानामा यसरी ठगिने व्यवसायी तथा सर्वसाधारणकाे संख्यामा पनि कम हुने देखिँदैन।

एउटै प्रकृतिका एउटै व्यक्तिकाे नाममा एकभन्दा बढी कम्पनी दर्ता हुने, एउटै व्यक्तिकाे नाममा धेरै सिमकार्डकाे खरिद र प्रयाेग लगायतका विषयमा निगरानी नहुँदा समेत ठगि धन्दा माैलाउन सहज देखिने हुँदा यस बारेमा समेत सम्बन्धित निकायकाे ध्यान जानु जरूरी देखिन्छ