नाटकीय शैलीमा २० वर्षदेखि ठगीधन्दा : भूतपूर्व भारतीय सैनिक १३ वर्षमा ६ पटक ठगी मुद्दामा पक्राउ

नाटकीय शैलीमा २० वर्षदेखि ठगीधन्दा : भूतपूर्व भारतीय सैनिक १३ वर्षमा ६ पटक ठगी मुद्दामा पक्राउ
June 23, 2023

कुनै पनि व्यक्तिले २०–२२ वर्ष बिताउँछ भने पक्कै पनि आफ्नो पेसामा उसले राम्रै प्रगति गरेकै हुन्छ । तर, कोही व्यक्तिले ठगीधन्दालाई पेसा बनाएर दुई दशक बिताउ“छ भने उसले गरेको के होला ? पक्कै पनि हरकोहीका लागि यो चासोको प्रश्न हो । 

 

 

यसको जवाफ खोज्न ०६७ सालतिर फर्कनुपर्छ । त्यसवेला उपत्यकामा प्रहरीले एउटा अनौठो खालको ठगी घटनाको अनुसन्धान गर्‍यो । घटना थियो– एक व्यक्तिले माओवादीका विभिन्न नेताहरूको नाममा बैंकका सिइओहरूलाई ठगी गरिरहेका थिए । 

 

ती व्यक्तिले आफू माओवादीको नेता भएको भन्दै दुरुस्त आवाज निकालेर बैंकरहरूलाई फोन गर्दथे । समस्या परेको भन्दै केही रकम बैंक खातामै राखिदिन आग्रह गर्दथे । केही दिनमै त्यो पैसा फिर्ता पनि गर्दथे । फेरि केही दिनपछि उही शैली र भाषामा थप रकम सापटी माग्थे ।

चर्चित नेताले बैंक खातामै पैसा मागेपछि बैंकर पनि विश्वास मानेर सहजै रकम दिन्थे । तर, ठूलो रकम लिएपछि ती व्यक्ति मोबाइल स्विच्डअफ गरेर बेपत्ता भए । सम्बन्धित बैंकरले वास्तविक नेता भेटेर गफ गर्दा आफूले फोन पनि नगरेको र पैसा पनि नमागेको बताएपछि मात्र यो ठगीधन्दा बाहिर आएको थियो । 

 

त्यसपछि प्रहरीले निकै मिहिनेत गरेर त्यसरी ठगी गर्ने प्युठान जिल्लाको भिमरुक घर भएका ईश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले प्रहरीसँग भनेका थिए, ‘मलाई माओवादी नेताहरूले दुःख दिएकाले प्रतिशोध लिन यसो गरेको हुँ ।’ नेताहरूको नामको नक्कली नागरिकतासमेत बनाएर बैंक खाता खोली उनले त्यसरी नेताको नाममा पैसा असुलेका थिए । 

 

तर, प्रतिशोध लिन नभई उनको नियत नै ठगी गर्ने देखिन्छ । किनकि उनै पोखरेल अहिले फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई मंगलबार काठमाडौंमा पक्राउ गरेको हो । उनीविरुद्ध विभिन्न जिल्लामा ठगीका उजुरी छन् । त्यसयता उनी निरन्तर ठगी धन्दामा सक्रिय रहेका उनीविरुद्धका उजुरीले देखाउँछ । 

 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसी उनी ठगीका नटवरलाल भएको बताउँछन् । ‘अरूभन्दा फरक शैलीले उसले ठग्दै आएको छ,’ डा. केसी भन्छन्, ‘पेसेवर ठग भएकाले हामीलाई पक्राउ गर्न पनि निकै गाह्रो भयो ।’ 

 

पछिल्लो समय उनले गौमुखी ग्रुप अफ इन्डस्ट्रिज र बागमती सप्लायर कम्पनीका नाममा ठगी गरेका हुन् । ती कम्पनीका नाममा खाद्यान्नदेखि निर्माण सामग्री सस्तोमा बिक्री गर्ने भन्दै पैसा लिएर ठगी गरी बेपत्ता हुने गरेका थिए । ह्वाट्सएप तथा फेसबुकमा विज्ञापन गरी प्रचार गर्ने र बैंक खातामा पैसा हाल्न लगाई सामान नदिएर उनले ठगी गरेका हुन् । 

 

उनीविरुद्ध काठमाडौंसहित विभिन्न जिल्लामा ठगीका जाहेरी परेका छन् । अपराध अनुसन्धान कार्यालयमा तीनवटा जाहेरी छन् । चितवन प्रहरीले २३ माघमा नै उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । वैदेशिक रोजगार विभागले गत १ असारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी परिसर काठमाडौं, इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दर्ता भए पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनी कहिले भारत त कहिले नेपाल बस्ने गर्दथे । 

 

पछिल्लो १३ वर्षमा उनी ६ पटक ठगी मुद्दामा पक्राउ परेका छन् । ०६७ सालमा पक्राउ परेपछि छुटेकामा त्यसको पाँच वर्षपछि फेरि काठमाडौंमै पक्राउ परे । त्यतिवेला ठगीका साथै उनीविरुद्ध बलात्कारको जाहेरीसमेत परेको थियो । एक महिलालाई ठगी गर्नुका साथै यौन शोषणसमेत गरेका थिए । त्यो मुद्दामा पनि उनी बयान फेर्न लगाई छुटेका थिए । 

 

०७६ मा वैदेशिक रोजगार विभागले मुद्दा चलायो । ०७८ मा ठगी र वैदेशिक रोजगारसम्बन्धी ठगीमा मुद्दा चले पनि उनी लामो समय थुनामा बस्नुपरेन । त्यतिवेला उनले आफू ठूला कृषि फर्मको सञ्चालक भएको भन्दै सामान किन्ने र चेक दिने गर्दथे । 

 

कार चढ्ने भएकाले व्यवसायीले पनि सहजै विश्वास गरेर चेकको भरमा सामान दिन्थे । खातामा पैसा हुँदैन थियो, पछि उनी बेपत्ता हुन्थे । वडा प्रहरी कार्यालय चन्द्रौटाले दुई वर्षअघि यस्तो ठगीमा उनलाई पक्राउ गरेको थियो । त्यतिवेला उनीविरुद्ध ठगी, बैंकिङ कसुरदेखि वैदेशिक रोजगार ठगीजस्ता मुद्दा परेपछि केही महिनामै छुटेर फेरि देशभरि ठगी गर्न भ्याएका हुन् । 

 

प्रहरीका अनुसार उनी भूतपूर्व भारतीय सैनिक हुन् । बिदामा नेपाल आउँदा आफूलाई ०५८ सालमा माओवादीले अपहरण गरेर युद्धमा लगाएको र त्यही वेलादेखि उनी ठगी धन्दामा समेत लागेको अनुसन्धानमा खुलेको छ ।

 

#ठगी # मुद्दा # ठगीधन्दा