पूर्वी नाकाबाट कृषिजन्य वस्तु निर्यात उत्साहजनक, अलैँचीको झन्डै दोब्बर

पूर्वी नाकाबाट कृषिजन्य वस्तु निर्यात उत्साहजनक, अलैँचीको झन्डै दोब्बर
July 19, 2023

झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ।

 

मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्यबराबरको ९९ लाख ३१ हजार ५ सय ४ केजी अलैँची भारत निकासी भएको छ।

 

आर्थिक वर्ष २०७८/७९ मा सोही अवधिमा ४ अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्यबराबरको ५२ लाख ८० हजार ४ सय ४३ केजी अलैँची भारत निकासी भएको थियो।

 

गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा अलैँची निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो। अर्थात् तुलनात्मकरूपमा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार रुपैयाँबराबरको अलैँची निर्यात वृद्धि भएको छ।

 

यसैगरी, गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष  २०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४२ करोड ६९ लाख ५२ हजार रुपैयाँबराबरको १ करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। 

 

उनले अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार मूल्यबराबरको चिया निर्यात वृद्धि भएको बताए। आर्थिक वर्ष  २०७८/७९ मा २ अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्यबराबरको १ करोड १७ लाख १३ हजार ६ सय ५९ केजी चिया निर्यात भएको थियो।

 

अदुवा र अम्रिसोको निर्यातसमेत बढेको छ। आर्थिक वर्ष २०७९/८० मा ६३ करोड ९२ लाख २९ हजार मूल्यबराबरको १ करोड ५५ लाख ४२ हजार ९ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

 

उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख ६ हजार मूल्यबराबरको अदुवा निर्यात वृद्धि भएको छ। आव २०७८/७९ मा ३३ करोड ६९ लाख २३ हजार मूल्यबराबरको १ करोड ४ लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो। 

 

अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, आर्थिक वर्ष २०७९/८० मा ८६ करोड ४३ लाख मूल्यबराबरको १ करोड १९ लाख ७३ हजार ९ सय ८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ।

 

प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार मूल्यबराबरको अम्रिसो निर्यात वृद्धि भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ६२ करोड ८९ लाख ८१ हजार मूल्यबराबरको १ करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो। अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ।

 

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

 

पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ।

 

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ९९ करोड १० लाख ११ हजार मूल्यबराबरको प्लाइउड निकासी भएको छ। जबकि, आर्थिक वर्ष २०७८/७९ मा १० करोड ८० लाख ५७ हजार मूल्यबराबरको प्लाइउड निकासी भएको थियो।

 

यसैगरी, आर्थिक वर्ष २०७९/८० मा १ अर्ब १० करोड ८१ लाख ११ हजार मूल्यबराबरको छुर्पी निकासी भएको छ। जबकि, आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो। 

 

कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य वस्तुको उत्पादन हुने गरेको छ। 

 

पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्रान्डिङ भने झापामा हुँदै आएको छ।