विराटनगर। तत्कालीन राजा महेन्द्र २०२७ सालमा सर्लाही लगायतका जिल्लाको भ्रमणमा निस्किए। भ्रमणदलमा रामलाल गोल्छा पनि सँगै थिए । रामलाल नेपालको औद्योगिकीकरणका लागि पायनियर मानिन्छन्।
सर्लाहीको लालबन्दी पुगेपछि त्यहाँको ठाउँ महेन्द्रलाई रमणीय लाग्यो। वरिपरि घनाजगंल र सँगसँगै खेतीकिसानी गर्नेको बाक्लो वस्ती। उनीहरू धेरैजसो रामेछाप र सिन्धुलीबाट झरेका थिए। त्यही अवसरमा महेन्द्रले स्थानीय किसानका समूहसित भेटेछन्।किसानको मुख्य गुनासो थियो, ‘सरकार, हामी धान, गहुँ, मसुरो आदि त उब्जाउँछौं तर उचित मूल्य पाइरहेका छैनौं।’
किसानसँग भेट सकिएपछि महेन्द्रले रामलाललाई तत्काल भनेछन्, ‘रामलालजी, यो लालबन्दीमा एउटा खाद्यान्नको उद्योग चाहियो। तपाईंले नै खोल्नुपर्योे।’रामलालले तत्कालै बिन्ती बिसाए, ‘जो आज्ञा सरकार। म यहाँ खाद्यान्नको उद्योग खोल्नेछु र किसानलाई उचित मूल्य दिएर कृषिउपज खरिद गर्नेछु।’
रामलाल आफ्नै थलो विराटनगर आइपुगे। विराटनगर आइपुग्नेबित्तिकै रामलालले पारिवारिक बैठक गरे। लालबन्दीमा राजाको आदेश अनुसार खाद्यान्नको उद्योग खोल्ने निधो भएको सुनाए। उनले छोरा हुलासलाई तत्काल भारतको नयाँ दिल्ली पठाए। त्यस बेला दिल्लीमा मेसिनको प्रदर्शनी चलिरहेको थियो। हुलासलाई ‘बुलर’ कम्पनीको मेसिन राम्रो लाग्यो। उनले त्यही मेसिन अर्डर गरे।
सबै मेसिन ल्याइसकेर जडान गर्न र उद्योग चलाउन २ वर्ष लाग्यो। यसरी २०२९ सालदेखि सर्लाहीको लालबन्दीमा ‘भूदेव खाद्य उद्योग’ विधिवत् सञ्चालनमा आयो। उद्योगबाट चामल प्रशोधन हुन थाल्यो। केही समयपछि दाल प्रशोधन गर्न थालियो । त्यस बेला चामल भारत निर्यात गरिन्थ्यो। उद्योगको व्यवस्थापनपछि दिवाकर गोल्छाले हेर्न थाले। दिवाकरले २०४० सालमा चीनबाट मेसिन ल्याएर त्यही स्थानमा पिठो उद्योग सुरु गरे।
त्यसपछि रामलालका नाति सुरेन्द्र गोल्छाले भूदेव खाद्य उद्योगको व्यवस्थापन २०४४ सालदेखि सम्हाले। उद्योगलाई उनले आधुनिकीकरण गर्न थाले। नेपालमा पहिलो पटक ‘ग्रेडेड राइस’ विक्रीवितरण यही उद्योगबाट थालियो। उद्योग मात्र नभएर उनले उत्पादनको ब्रान्डिङ पनि नौलो तरिकाले गरे।
उनी आउँदासम्म उद्योगले १ सय किलो चामल एउटै बोरामा प्याकिङ गरेर चामलको विक्रीवितरण हुन्थ्यो। सुरेन्द्रले यसलाई बदले। उनले १, ५ र ३० किलोको प्याकिङमा ‘हुलास’ ब्रान्डका चामलको विक्रीवितरण सुरु गरे। उनको यस कामलाई आफ्नै परिवारदेखि बाहिरका साथीभाइसम्मले आपत्ति जनाएका थिए। तर जसले गाली गरे उनीहरु पनि त्यसरीनै खाद्यान्न ब्राण्डिङ गरेर बेचिरहेका छन्।
अब लालबन्दीबाट धनुषा
सत्तरीको दशकमा आइपुग्दासम्म लालबन्दीस्थित उद्योगका मेसिनहरू पूराना भइसकेका थिए। संसारमा नयाँनयाँ प्रविधिका स्वचालित मेसिनहरू आइसकेका छन्।
लालबन्दीको ४ बिघा जमिन पनि सुरेन्द्रलाई साँघुरो भइसकेको थियो। त्यसैले उनले लालबन्दीको उद्योगलाई यसै वर्षदेखि धनुषामा सारेका छन्। धनुषाको गणेशमान–चारनाथ नगरपालिका वडा नं. १३ स्थित गोदारमा यही वैशाखको मध्यदेखि भूदेव खाद्य उद्योगको सफ्ट ओपनिङ गरिएको छ। उद्योगले १३ बिघा जग्गा ओगटेको छ। उद्योगले चामल, पिठो र सुजीको उत्पादन सुरु गरिसकेको छ। अहिलेसम्म उद्योगमा १७० करोडको लगानी भइसकेको छ।
‘नयाँ मेसिन थप्न लालबन्दीको उद्योगमा ठाउँ थोरै भयो’, उद्यमी गोल्छाले बिजमाण्डूलाई भने, ‘त्यसैले उद्योगलाई धनुषा सार्नुपर्योम। लालबन्दीको उद्योगबाट केही मेसिन ल्याएर तिनलाई अलिअलि मर्मत गरियो। मुख्य मेसिनहरू सबै नयाँ, अत्याधुनिक र स्वचालित छन्।’
उद्योगबाट चामलको दैनिक १ सय टन तथा पिठो र सुजी गरी १२० टन प्रशोधन हुन्छ। उनले यही उद्योगको परिसरमा केही समयमै दाल र तोरीको तेलको उद्योग पनि सुरु गर्ने योजना बनाएका छन्। यसबाहेक एफएमसिजी अन्तर्गतका विभिन्न स्न्याक्सको उत्पादन गर्ने लक्ष्य पनि राखिएको छ।
अहिले सुरेन्द्रको आँखा उद्योगवरिपरि रहेको २ सय बिघा बाँझो जमिनमा परेको छ। उनी त्यो जमिनमा कन्ट्याक्ट फार्मिङ गर्न चाहन्छन्। यसका निमित्त स्थानीय जग्गाधनीसँग कुराकानी समेत गरेका छन्। गोल्छाका अनुसार धनुषास्थित चामल र पिठोको उद्योग दुबै पूर्ण स्वचालित भएकाले धेरै श्रमिकको आवश्यकता छैन।
उद्योगमा हाल १५० जनाले रोजगारी पाएका छन्। दाल, तोरीको तेल, स्न्याक्स गरी सबै युनिट सञ्चालनमा आएपछि ३ सय भन्दा बढीले रोजगारी पाउने उनको भनाइ छ। सुरेन्द्र लालबन्दीको जमिनलाई पनि प्रयोगविहिन छाड्ने मनस्थितिमा छैनन्। त्यहाँ १० हजार टनभन्दा बढी खाद्यान्न अट्ने गोदामहरू छन्। उनी यी गोदामलाई स्थानीय किसानले खाद्यान्न भण्डारण गर्न पाउने गरी ‘वेयर हाउस’ बनाउन चाहन्छन्।
‘उचित भण्डारण गर्ने ठाउँका अभावमा किसानले उब्जनी हुनेबित्तिकै सस्तो मूल्यमै अन्नबाली बेचिरहनु परेको छ’, गोल्छाको भनाइ थियो, ‘त्यसैले किसानले चाहेका बेलामा आफ्नो उपज विक्री गर्न पाउने गरी उनीहरूलाई नै लक्षित गरेर लालबन्दीका गोदामलाई ‘वेयरहाउस’मा परिणत गर्ने लक्ष्य राखिएको हो।’