रिलायन्सले किन्याे साढे ४३ करोडमा गोल्छाको श्रीराम सुगर मिल्स

रिलायन्सले किन्याे साढे ४३ करोडमा गोल्छाको श्रीराम सुगर मिल्स
July 28, 2023

काठमाडौं। व्यावसायिक घराना गोल्छा परिवार र विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलामी भएको छ। श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले सकारेको हो।

 

रिलायन्स सुगरमा त्रिवेणी ग्रुप र शिवशक्ति ग्रुपको लगानी छ। रिलायन्सले ४३ करोड ६० लाख रुपैयाँमा श्रीराम सुगरका सबै उपकरण सकारेको हो। रकम भुक्तानी दिएर उपकरण लैजान बाँकी रहेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।

 

रिलायन्सले न्यूनतमभन्दा बढी प्रस्ताव पेस गरेको छ। ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ मा उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो। बैंकले साउन ४ मा बोलपत्र पेस गर्न अन्ति दिन तोकेको थियो। 

 

बैंकले लिलाम गर्न लागेको मिल मेसिनरीको न्यूनतम मूल्य ३८ करोड ११ हजार ७ सय ५५ रुपैयाँ तोकेको थियो। श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत जोड्दा अहिले २६ करोड रुपैयाँ पुगेको छ। उद्योगले बैंकहरूलाई २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो।

 

२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ।

 

लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गराएको हो। उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो। उद्योग स्थायीरूपमा बन्द भएको व्यवस्थापनले जानकारी गराएको थियो। सञ्चालन प्रयास भइरहंँदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको थियो। 

 

याे पनि पढ्नुहाेस्

 

ऋण नतिरेपछि गोल्छाको श्रीराम सुगर मिल्स लिलामीमा चढ्यो

 

पछि श्रीराममा विशाल ग्रुपले लगानी गरेको थियो। चालु पुँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा र विशाल समूहले उद्योग बन्दको निर्णय गरेका थिए।  

 

श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो। श्रीराम नेप्सेमा सूचीकृत उद्योग हो। नेप्सेमा सूचिकृत कम्पनी भए पनि श्रीरामले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको थिएन।

 

उद्योगको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ। मिल बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा छ।

 

मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवारको सेयर छ। कूल ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर छ। जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १ सय ३९ कित्ता छ। 

 

उद्योग रौतहट गरुडा नगरपालिका-६ महम्मदपुरमा छ। उद्योगको नाममा ८० बिघा जग्गा छ। 

 

श्रीराम किन्ने रिलायन्सको यस्तो छ वित्तीय अवस्था

reliance-sugar-bara1690525964.jpg

 

श्रीराम सुगर सकारेकाे रिलायन्स सुगर मिल्समा त्रिवेणी र त्रिशक्ति ग्रुपको लगानी छ। उद्योगका सञ्चालक वीरेन्दकुमार संघइ र राजकुमार अग्रवाल हुन्। रिलायन्समा त्रिवेणी र त्रिशक्तिको आधा-आधा स्वामित्व छ। सन् १९९९ मा स्थापना हुँदा ममकौर सुगर एन्ड केमिकल इन्डस्ट्रज प्रालिबाट सञ्चालनमा आएको थियाे। २०११ मा नाम परिवर्तन भएर रिलायन्स सुगर बनेको हो। 

 

उद्योगले २०२२ मा १ अर्ब ६१ करोड रुपैयाँबराबर चिनी कारोबार गरेको थियाे। २०२१ मा उद्योगको चिनी व्यापार ९५ करोड ४४ लाख रुपैयाँ थियो। २०२० मा २ अर्ब ३० करोड र २०१९ मा १ अर्ब ६७ करोड ६० लाख रुपैयाँको चिनी व्यापार गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

 

Screenshot 2023-07-28 1253091690528120.jpg

 

उद्योगकाे क्षमता दैनिक ३ हजार ५ सय टन उखु पेल्न सक्ने छ। उद्योग बारा कलैयास्थित मनर्वामा छ। उद्योगले ४.५ मेगावाटको क्याप्टिभ पावर प्लान्टबाट बिजुली उत्पादन गर्छ। यस्तै उद्योगको डिस्टिलरी युनिटबाट दैनिक ३० किलोलिटर मदिरा उत्पादन हुने गरेको छ। रिलायन्सको ८६ करोड ३३ लाख रुपैयाँ ऋण छ।