रुसले रोक्यो पश्चिमा राष्ट्रमा कच्चा तेलको निर्यात, पुटिनको अनुमति बिना निर्यात गर्नै नपाउने अध्यादेश

रुसले रोक्यो पश्चिमा राष्ट्रमा कच्चा तेलको निर्यात, पुटिनको अनुमति बिना निर्यात गर्नै नपाउने अध्यादेश
December 28, 2022

रुसले रुसी तेलको मूल्यमा सीमा तोक्न सहमति जनाउने देशहरुमाथि तेल विक्रीमा रोक लगाएको छ । यही महीनाको शुरुमा पश्चिमी देशहरुले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित राख्ने सहमति गरेका थिए । डिसेम्बर ५ देखि सो सहमति लागू भएको छ । यसका कारण रुसी तेल किन्ने देशहरुले प्रतिब्यारेल तेलमा रुसलाई ६० डलरभन्दा बढी तिर्न नपाउने भएका छन् ।

 

मूल्य सीमा लगाउने कसैलाई पनि तेल  र तेल प्रडक्ट बेच्दिन भनेर रुसले अहिले घोषणा गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अध्यादेश नै जारी गरेर यो प्रतिबन्ध फेब्रुअरी १ देखि जुलाई १ सम्मको पाँच महीना लागू हुने बताएका छन् ।

 

प्रतिबन्धमा समेटिने देशहरुलाई तेल बेच्नु परेमा पुटिनले नै विशेष अनुमति दिनु पर्ने पनि अध्यादेशमा भनिएको छ । सात औद्योगिक देशहरुको समूह जीसेभेनले पहिलो पटक सेप्टेम्बरमा रुसले बेच्ने तेलको मूल्यमा सीमा तोक्ने अवधारणा अगाडि सारेका थिए ।

 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुमाझ रुसी तेलको माग घटेको थियो । तेलको भाउमा भएको वृद्धि अनि एशियामा चीन र भारत जस्ता देशहरुबाट माग बढ्दा रुसको आम्दानी भने घटेन ।

 

ईयूले यस अघि नै रुसले समुद्री मार्ग भएर यूरोप तर्फ पठाउने तेलमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिका, बेलायत लगायत अन्य केहीले पनि यस्तै खालको प्रतिबन्ध लगाएका छन् । रुसले तेल बेचेर कमाउने आम्दानी घटाउन रुसी तेलको मूल्यमा सीमा तोकिएको हो ।

 

यसले रुसले जीसेभेन र ईयूका ट्याङकर, बीमा कम्पनी र कर्जादाता संस्थाहरू संलग्न भएको कच्चा तेल प्रतिब्यारेल ६० डलरभन्दा बढीमा बेच्न रोक लगाउँछ । विश्वका ठूल्ठूला ढुवानी कम्पनी र बीमा कम्पनीहरु जीसेभेनभित्र छन् ।

 

रुसी तेलमा लगाइएको मूल्य सीमा कमजोर भएको अनि रुसी अर्थतन्त्रलाई कमजोर बनाउन यो पर्याप्त नभएको भन्दै यो महीनाको शुरुमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले भनेको थिए ।

 

मूल्य सीमाका कारण रुसको निर्यात आम्दानी घट्दा बजेट घाटा जीडीपीको २ प्रतिशतभन्दा माथि उक्लिने रुसी अर्थमन्त्रीले मंगलवार भनेका थिए । अहिले विश्व बजारमा कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क प्रतिब्यारेल ८ डलर आसपास रहँदै आएको छ । यो मार्च र जुनमा कायम भएको प्रतिब्यारेल १२० डलरभन्दा निकै कम हो । एजेन्सी