सुदूरपश्चिमको भागेश्वर सुगरको व्यापार बढेर १.२९ अर्ब पुग्यो, चिनी बिक्रीबाट ८८ प्रतिशत आम्दानी

सुदूरपश्चिमको भागेश्वर सुगरको व्यापार बढेर १.२९ अर्ब पुग्यो, चिनी बिक्रीबाट ८८ प्रतिशत आम्दानी
June 6, 2023

काठमाडौं। बोगटी परिवारको लगानी रहेको भागेश्वर सुगर र केमिकल इन्डस्ट्रिजको व्यापार बढेको छ। कम्पनीले सन् २०२१/२२ मा १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा ९६ करोड रुपैयाँको व्यापार थियो।

 

०१९/२० मा १ अर्ब र २०१८/१९ मा ९६ करोड ६० लाख रुपैयाँको कारोबार कम्पनीले गरेको थियो। दैनिक २५ सय टन उखु पेल्न सक्ने क्षमता रहेको कम्पनीमा लाल बोगटी र उनका तीन छोराहरु शंकर बोगटी, टेक बोगटी र गणेश बोगटीको स्वामित्व छ।

दैनिक ३० हजार टन उखु पेल्न सक्ने क्षमता नेपालमा स्थापित चिनी उद्योगहरुसँग छ। जसमध्ये ८ प्रतिशत हिस्सा भागेश्वर सुगरको रहेको इक्रा नेपालको रेटिङ विवरणमा उल्लेख छ।

सुदूरपश्चिममा उद्योग रहेको कम्पनीले २०२१/२२ मा चिनी बिक्रीबाट ८८ प्रतिशत आम्दानी गरेको छ। अघिल्लो वर्ष यो ९० प्रतिशत थियो। सन् २०१६ बाट व्यवसायिक उत्पादन थालेको उद्योग साढे २ अर्ब लगानीमा खुलेको थियो।

कम्पनीले ५८ करोड १३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल ट्रिपल बी माइनस र ३५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए थ्री रेटिङ पाएको छ। इक्रा नेपालले कम्पनीको रेटिङ बढुवा गरेको छ।