शिवम् एग्रो उद्योगको व्यापार रिबाउन्ड हुँदै, डेढ अर्बको व्यापार

शिवम् एग्रो उद्योगको व्यापार रिबाउन्ड हुँदै, डेढ अर्बको व्यापार
March 5, 2023

शिवम् अर्गनाइजेशनद्वारा सञ्चालित शिवम् एग्रो उद्योग प्रालिको व्यापार रिबाउन्ड हुँदै गएको छ । कोरोना महामारीले गर्दा घटेको व्यापार कोरोनापछि पुनः रिबाउन्ड हुँदै गएको कम्पनीले जनाएको छ ।

 

कम्पनीकाअनुसार सन् २०२१ को तुलनामा ३३.६४ प्रतिशतले व्यापार बढेको हो । कम्पनीले सन् २०२१ मा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२२ मा बजारमा प्रिमियम ब्रान्डको चामलको उच्च माग हुँदा व्यापारमा उछाल आएको कम्पनीको भनाइ छ ।

 

कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१२ मा स्थापना भएको कम्पनीले एग्रो क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले धान प्रशोधन गरी विभिन्न ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ ।

 

कम्पनीले लङ ग्रेन र जीरा मसिनो चामल ७ वटा ब्रान्डमा ५ केजीदेखि ३० केजीको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी चामल उत्पादन गर्दै आएको छ । शिवजीप्रसाद शाह कल्वार अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ९ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँ अर्थात् एफोर र दीर्घकालीन कर्जाका लागि ९ करोड १७ लाख रुपैयाँ अर्थात् डबल बी रेटिङ पाएको छ ।

कम्पनीको देशभर दुई सयभन्दा बढी होलसेल र ४ वटा स्थानमा उद्योग छ । साथै, काठमाडौं, पोखरा र जीरीमा मार्केटिङ कार्यालय छन् । त्यस्तै, कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ९० करोड रुपैयाँको व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२२ मा ७.०२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ७.३२ र सन् २०२० मा ८.३२ प्रतिशतले नाफा कमाएको थियो ।