शिवशिखर सहकारीलाई ऋण दिने बैंकले सिआइबीलाई दिएनन् विवरण, राष्ट्र बैंकको ‘असहयोग’

शिवशिखर सहकारीलाई ऋण दिने बैंकले सिआइबीलाई दिएनन् विवरण, राष्ट्र बैंकको ‘असहयोग’
July 12, 2023

काठमाडौं। शिवशिखर सहकारीलाई ऋण दिने बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई विवरण दिन अटेर गरेका छन्। सिआइबीले असार १९ गते विभिन्न ६ बैंकलाई लिखित पत्राचार गर्दै शिवशिखर सहकारीलाई दिएको ऋण विवरण मागेको थियो। 

 

सिआइबीले केन्द्रीय बैंकलाई बोधार्थ दिएर बैंकहरूलाई ऋण विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। तर, केन्द्रीय बैंकले असहयोग गरेका कारण बैंकबाट बुधबारसम्म विवरण प्राप्त हुन नसकेको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए। 

 

शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्माले विभिन्न ६ बैंकबाट साढे ४ अर्ब बढी ऋण लिएको बयान दिएपछि बैंकले ऋण दिएको हो/होइन भनेर भेरिफाइ गर्न विवरण मागेको हो। तर, अहिलेसम्म विवरण प्राप्त नहुँदा थप अनुसन्धान गर्न समस्या भएको सिआइबीले जनाएको छ। 

 

केन्द्रीय बैंकलाई पनि विवरण उपलब्ध गराइदिन अनुरोध गरिए पनि पर्याप्त सहयोग नभएको सिआइबीको भनाइ छ। शर्माले नेपाल एसबिआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र प्रभु बैंकबाट ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी ऋण लिएको बयान दिएपछि सिआइबीले सम्बन्धित बैंकसँग विवरण मागेको थियो।

 

शर्माले एसबिआइबाट १ अर्ब ७५ करोड, हिमालयनबाट ९० करोड, एनआइएमबीबाट ७५ करोड, माछापुच्छ्रेबाट ७० करोड, नबिलबाट २० करोड र प्रभु बैंकबाट ३५ करोड ऋण दिएको शर्माले बयान दिएका थिए। के प्रयोजनका लागि ऋण लिएको भन्ने हेर्न र अनुसन्धान गर्न विवरण माग्दा पनि केन्द्रीय बैंकले सहजीकरण नगरेको सिआइबीको आरोप छ। 

 

बैंकहरूले विवरण उपलब्ध गराउन आनाकानी गरेको देख्दा ऋण दिँदा गडबडी भएको आशंका गर्ने ठाउँ रहेको सिआइबीले बताएको छ। ‘अहिले नै गडबडी छ भन्न त सकिँदैन’ आचार्यले भने, ‘तर, विवरण नदिएको देख्दा शंका उब्जिएको हो।’

 

शर्माका नटराज एग्रो प्रालि, शिखर अर्गनाइजेसन प्रालि, तुलसी अनुसन्धान केन्द्र प्रालि, गोरखा टी एन्ड कफी उद्योग प्रालि, शिवशिखर अर्गनाइजेसन प्रालि, तुलसी राइस एन्ड चिउरा उद्योग, गार्डेन मार्टलगायत कम्पनीमध्ये कुन–कुनमा बैंकले ऋण दिएका हुन भनेर हेर्न विवरण मागिएको हो। 

 

बैंकले ऋण दिँदा पुर्‍याउनुपर्ने प्रक्रिया पुर्‍याए/नपुर्‍याएको हेर्न बैंकसँग विवरण मागे पनि हालसम्म प्राप्त हुन नसकेको सिआइबीले बताएको छ।

 

यदि बैंकले शर्मासँग मिलेर धितो नलिई ऋण दिएको फेला परे ऋण स्वीकृत गर्ने अधिकारीदेखि बैंकका सिइओमाथि अनुसन्धान हुने डरका कारण विवरण उपलब्ध नगराएको हुन सक्ने सिआइबीको अनुमान छ।

 

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीले १० अर्ब रुपैयाँ निक्षेप हिनामिना गरेको भेटिएको आचार्यले बताए।