शिवशिखरमा केदारनाथको बदमासी : ६ अर्ब अपचलन गरी भारत र म्यानमारमा व्यवसाय विस्तार

शिवशिखरमा केदारनाथको बदमासी : ६ अर्ब अपचलन गरी भारत र म्यानमारमा व्यवसाय विस्तार
July 10, 2023

भारतमै कम्पनी खोलेर ‘नेपा उपकार’ ब्रान्डमा खाद्यान्न उत्पादन एवम् वितरण

 

सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।

 

२५ असार, काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको रकम हिनामिना गरेका सञ्चालक केदारनाथ शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पुर्‍याएको पाइएको छ ।

 

बचतकर्ताको १४ अर्बभन्दा बढी हिनामिना गरेका शर्माले ६ अर्ब २५ करोड नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । उनको कम्पनीले भारत र म्यानमारबाट कृषि उपज तथा मेसिनरीहरू आयात गर्दै आएका थिए । आयात हुने वस्तुको खरिद मूल्य वास्तविकभन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।

 

सीआईबीको अनुसन्धानकै आधारमा सरकारी वकिलको कार्यालय, भक्तपुरले शर्मालगायत सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध १८ जेठ २०८० मा ‘सहकारी ठगी र संगठित अपराध’को मुद्दा दर्ता गरेको छ । त्यो बेला केदारकी श्रीमती गीता शर्मा तथा सञ्चालक समितिका सदस्यद्वय पुस्कर मल्ल र अमिस राजभण्डारी मात्र पक्राउ परेका थिए । शर्मासँगै सहकारीका अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्यहरू दिपकबहादुर ऐर र राजु साखकर्मी तथा व्यवस्थापक लिलानाथ गौतम फरार थिए । शर्मालाई सीआईबीले ११ असारमा भारतमा पक्राउ गरेको थियो ।

 

भारत र म्यानमारमा कम्पनी

 

शर्माले म्यानमारको यांगुनमा न्यू गोल्डेन एभरेष्ट नामको कम्पनी दर्ता गरेका छन्, जसले दाल तथा दालको गेडा शिखर अर्गनाइजेसनलाई पठाउने गरेको छ ।

 

केदारनाथ शर्माले भारतमा नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड दर्ता गरेको छन् । सहकारीका सञ्चालक अमिश राजभण्डारीले पनि सीआईबीलाई दिएको बयानका क्रममा शर्माले ‘नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड’ नामक कम्पनी दर्ता गरेर व्यवसाय गर्ने गरेको बताएका छन् । यो कम्पनी भारतको कर्पोरेट अफेयर्स मन्त्रालयअन्तर्गत विदेशी कम्पनीको सब्सिडियरी कम्पनीका रुपमा दर्ता भएको देखिन्छ, जसले नेपालमा शिखर अर्गनाइजेसनकै सब्सिडियरी कम्पनीको रुपमा भारतमा कम्पनी खोलेको स्पष्ट हुन्छ ।

 

दुवै कम्पनीको लोगो पनि हुबहु मिल्छ ।

 

 

भारतमा खाद्यान्न खरिद गरी नेपालमा निर्यात गर्ने उद्देश्यले सन् २०१७ मा राजस्थानमा दर्ता भएको यो कम्पनीले हाल उत्तर प्रदेशको लखनउबाट कारोबार गरिरहेको देखिन्छ । यसको मुख्य उद्देश्य कृषिउपज उत्पादन, ड्राइफ्रुट्स तथा नट्सहरू तथा पेय पदार्थ उत्पादन गर्नु रहेको मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

 

नेपाशिखर अर्गनाइजेसनले भारतमा ‘नेपा उपकार’, ‘रोज’ लगायत ब्रान्डमा चामल, दाल, मसलाहरू, ड्राइफ्रुट लगायत उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

 

दिल्लीमा दर्ता भएको नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेडको उद्देश्य चाहिँ मेटल तथा केमिकल सामान उत्पादन गर्नु भएको उल्लेख छ । यो कम्पनीले नेपालमा कृषि औजारहरू निर्यात गरेको भारतको इक्जिम ट्रेड डेटामा उल्लेख छ ।

 

दुवै कम्पनीको सञ्चालक केदारनाथ र उनकी श्रीमती गीता शर्मा छन् । साथै, अन्य दुई भारतीय नागरिकहरू अरबिन्द कुमार र सागर मोदी पनि सञ्चालक छन् ।

 

शर्माले म्यानमारको यांगुनमा न्यू गोल्डेन एभरेष्ट एग्रो कम्पनी सञ्चालन गरिरहेका छन् । जसले दाल, कफी, मसला लगायत उत्पादन गरी नेपालमा निर्यात गर्दै आएको दाबी गरिएको छ ।

 

नेपालको कानुनअनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैन । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ मा कसैले विदेशमा कुनै किसिमको लगानी गर्न नपाउने उल्लेख छ । सोही ऐनको दफा ४ मा कसैले त्यसरी लगानी गरे निजलाई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

 

तर, शर्माले शिवशिखर सहकारीको बचतकर्ताको रकम अपचलन गरी विदेशमा पुर्‍याएर निजी कम्पनी सञ्चालन गरिरहेको भेटिएको छ ।

 

सबै शाखाको रकम व्यक्तिगत कम्पनीमा सार्थे शर्मा

 

शिवशिखर सहकारीका सञ्चालक तथा कर्मचारीहरूले सीआईबीलाई दिएको बयानअनुसार देशभरका शाखा कार्यालयमा जम्मा भएको रकम केन्द्रीय कार्यालयमा सार्ने गरिएको थियो । अनि यसरी जम्मा भएको सबै रकम शर्माले सञ्चालक समितिको निर्णय र कुनै प्रक्रियाविनै आफ्ना कम्पनीमा सार्थे ।

 

शिवशिखर सहकारीका सञ्चालक तथा गार्डेन मार्टका कार्यकारी निर्देशक राजभण्डारीले आफ्नो बयानका क्रममा शिवशिखर सहकारीबाट शिखर अर्गनाइजेसन अन्तर्गतका कम्पनीहरूमा लगानी गर्दा सहकारीको सञ्चालक समितिबाट कुनै निर्णय नगराई केदारनाथ शर्मा र सहकारीका कार्यकारी अधिकृत लिलानाथ गौतमले आफूखुसी लगानी गर्ने गरेको स्वीकारेका छन् ।

 

‘शिवशिखर सहकारीको रकम हिमामिना गर्ने कार्यमा मुख्य भूमिका केदारनाथ शर्मा, लिलानाथ गौतम र गीता शर्माको छ,’ उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ ।

 

सहकारीकी महारागञ्ज शाखाकी लेखा अधिकृत चन्द्रकला ढुंगानाले दिएको बयानले पनि देशभरिको स्रोत केन्द्रीय कार्यालयमा सारेर कसरी रकम दुरुपयोग भएको स्पष्ट पार्छ । संस्थाको कुल पोर्टफोलियोको धेरै रकम शिखर अर्गनाइजेसन अन्तर्गतका कम्पनीहरूमा लगानी भएको उनले स्वीकारेकी छिन् ।

 

सीआईबीका एक अधिकृत भन्छन्, ‘५० करोडभन्दा बढी बचत संकलन गरेका शाखाबाट केही लाख मात्रै कर्जा लगानी भएको देखिन्छ । बाँकी निक्षेप अन्तर शाखा फण्ड ट्रान्सफरमार्फत् केन्द्रीय कार्यालयमा ल्याउने गरेको देखिन्छ ।’

 

सबै रकम शिखर अर्गनाइजेसनका नाममा लैजाने, तर सावाँब्याज फिर्ता नगर्ने गरेका कारण सहकारीमा तरलताको समस्या भई बचतकर्ताको सावाँब्याज फिर्ता गर्न नसकेको सहकारीका अर्का सञ्चालक पुष्कर मल्लले बयान दिएका छन् ।

 

संस्थाले गरेको ऋण लगानी, व्यवसायहरूमा गरिएको लगानी र स्थिर सम्पती खरिद गर्ने निर्णयहरु सञ्चालक समितिबाट नगरी प्रमुख कार्यकारी लीलानाथ गौतम, केदारनाथ शर्मा र सुशील बाँनियाको ठाडो आदेशमा हुने गरेको भन्दै उनले भने, ‘त्यसो गर्दा सहकारीमा जम्मा भएको बचत हिनामिना भएको छ ।’

 

सीआईबीको अनुसन्धानले पनि सहकारीको देशभरका शाखाबाट संकलन भएको रकम आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी शिखरदीप एग्रो प्रालि र शिवशिखर एग्रो प्रालिमा लगानी गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । दुई कम्पनीमा कुल २ अर्ब ८७ करोड रुपैयाँ लगानी भएको छ ।

 

गार्डेन मार्ट प्रालिमा ६२ करोड रुपैयाँ लगानी भएको छ । गोर्खा टी एन्ड कफीमा ४२ करोड रुपैयाँ लगानी भएको देखिन्छ । त्यस्तै केदारनाथ शर्मा स्वयम र तेजबहादुर तामाङले सहकारीबाट व्यक्तिगत रुपमा पैसा लिएर चलाएको पाइएको छ ।

बोल्न खोज्दा शर्माले धम्की दिए

सहकारीमा भइरहेको अनियमितताबारे जानकारी भएपनि जागिर जाने डरले केही बोल्न नसकेको मल्लको दाबी छ ।

सहकारीका सञ्चालक एवम् शिखर अर्गनाइजेसनका म्यानेजर समेत रहेका उनले आफू शर्माको कम्पनीमा मासिक तलब लिने गरी काम गर्ने कर्मचारी भएकाले अनियमितताबारे बोल्न खोज्दा जागिरवाट निकाल्ने डरधम्की दिने गरिएको बताएका छन् । सोहीकारण सञ्चालक समितिको सदस्यले खेल्नुपर्ने भुमिका खेल्न नसकेको उनको बयान छ । सहकारी सञ्चालनमा असहमति जनाई मल्लले २०७९ पुसमा दिएको राजीनामा अध्यक्ष सुशील बानियाँले प्रमाणित गरेपनि साधारणसभा हुन नसक्दा स्वीकृत नभएको बताएका छन् ।

सीआईबीको अनुसन्धानले पनि सहकारीमा जम्मा भएको रकम विना कुनै आधार अन्य सञ्चालक तथा कर्मचारीको बैंक खातामा सार्ने गरिएको देखाउँछ ।

शिवशिखर सहकारीमा नरहेकी शर्माकी श्रीमती गीता शर्माको प्रभु बैंकको खातामा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र अन्य कम्पनीहरूबाट उनको तलवबाहेक ८ करोड ७७ लाख ७० हजार रुपैयाँ जम्मा भएको देखिएको छ ।

त्यस्तै सञ्चालक पुष्कर मल्लको प्रभु बैंकमा रहेकोे खातामा ८९ लाख १३ हजार रुपैयाँ अन्यत्रैबाट जम्मा भएको पाइएको छ । केदारनाथ शर्माको प्रभु बैंकको खातामा सहकारी संस्था र शिखर अर्गनाइजेसनमा रहेका कम्पनीहरूबाट ६५ करोड ४२ लाख ७५ हजार रुपैयाँ ट्रान्सफर भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यसका साथै संस्थाले विभिन्न आर्थिक वर्षहरूमा सदस्यहरूलाई भुक्तानी गर्नुपर्नेमा ५ करोड २० लाख ६१ हजार ७९१ रुपैयाँ भुक्तान नगरी ठगी गरेको प्रहरीको दाबी छ ।