तेलको निर्यात ७० प्रतिशतले घट्दा वैदेशिक व्यापार नै प्रभावित

तेलको निर्यात ७० प्रतिशतले घट्दा वैदेशिक व्यापार नै प्रभावित
April 2, 2023

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी हिस्सा ओगटेको तेलको निर्यात घट्दा वैदेशिक व्यापार नै प्रभावित भएको छ । गत एकै वर्ष नेपालले करिब १ खर्ब रुपैयाँबराबरको पाम, भटमास र सनफ्लावर तेल निर्यात गर्दा कुल निर्यात व्यापार २ खर्ब रुपैयाँ नाघेको थियो ।

 


तर, यो वर्ष निर्यात व्यापार २ खर्ब पनि नहुने भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा तेलको निकासी घट्दा समग्र निर्यात २ खर्ब रुपैयाँ ननाघ्ने देखिएको हो । नेपालले गत वर्ष पहिलोपटक निर्यात २ खर्ब रुपैयाँ कटाएको थियो ।

 

नेपालले चालू आर्थिक वर्षको ८ महिना १ खर्ब ४ अर्ब ७९ करोड ६२ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जबकि गत वर्षको सोही अवधिमा नेपालले करिब डेढ खर्ब मूल्यबराबरको वस्तु निर्यात गरेको थियो ।

 

चालू आर्थिक वर्षको ८ महिनामा खानेतेलको निर्यात ७०.८ प्रतिशतले घटेको छ । नेपालले गत वर्षको ८ महिनामा पाम तेल, भटमासको तेल र सनफ्लावर तेल गरी ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको निर्यात गरेको थियो । यो वर्षको सोही अवधिमा २३ अर्ब ८० करोड २२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

 

नेपालबाट भारतमा ठूलो परिमाणमा तेल निर्यात हुँदै आएको छ । नेपालले मलेसियालगायतका देशबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएको छ ।

 

चालू आवमा तेल निर्यात घट्नुको मुख्य कारण भारतले लिएको नीति छ । भारतले बजारमा खानेतेलको मूल्य उच्च बढेको भन्दै पाम तेल, भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाएको छ । भारतको राजस्व विभागले मार्चसम्म लागू हुने गरी खानेतेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाएको हो ।

 

भारतले आमउपभोक्ताको सहजीकरण लागि लागू गरेको निर्णयले नेपालको निर्यातमा भने प्रत्यक्ष असर परेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकअनुसार भारतले भन्सार शुल्क शून्य बनाउँदा नेपालबाट निर्यात हुँदै आएको पाम तेल, भटमासको तेल र सनफ्लावरे तेलको निकासीमा कमी आएको हो ।

 

भारतले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत कायम गरेको छ । नेपालमा कच्चा पदार्थ आयातमा भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत भ्याट लाग्छ ।

 

जसका कारण नेपालबाट निर्यात भई बिक्री हुने तेल महँगो पर्छ । भारतले मार्चसम्मका लागि कायम गरेको उक्त नियमलाई निरन्तरता दिएमा नेपालको निकासी झनै खस्किने देखिन्छ ।

 

समीक्षा अवधिमा नेपालबाट निकासी हुँदै आएको पाम तेलको निर्यातमा ५७ प्रतिशतले कमी आएको छ । त्यस्तै, भटमासको तेलको निर्यात ८० प्रतिशत र सनफ्लावर तेलको ९३ प्रतिशतले घटेको छ ।

 

नेपालले गत वर्षको ८ महिनामा ३५ अर्ब ३३ करोड रुपैयाँको पाम तेल निर्यात गरेकोमा यो वर्षको सोही अवधिमा १५ अर्ब १८ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ ।

 

त्यस्तै, गत वर्ष ४१ अर्ब ४० करोड १७ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेकोमा यो वर्ष ८ अर्ब ३७ करोड २२ लाख र गत वर्ष ३ अर्ब ६१ करोड ४७ लाख रुपैयाँको सनफ्लावर तेल निर्यात गरेकोमा यो वर्ष २४ करोड ८१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।

 

गत वर्ष निर्यात भएका वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा तेलको छ । तर, यो वर्ष उक्त हिस्सा घटेर २२ प्रतिशतमा झरेको छ ।

 

कृषिजन्य वस्तु निर्यातमा छैन कमी

 

समग्रमा निर्यात २९ प्रतिशतले घटे पनि कृषिजन्य वस्तुको निर्यात भने बढेको छ । नेपालबाट मुख्य निर्यात हुँदै आएको चिया, अलैंची, अदुवालगायत अन्य विभिन्न वस्तुको निर्यात बढेको छ ।

 

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा अलैंचीको निर्यात ८० प्रतिशत, जुस १२.५ प्रतिशत, चिया २६.२ प्रतिशत, जडिबुटी २२ प्रतिशत र अदुवा १२०.४ प्रतिशतले बढेको छ ।

 

नेपालले यो वर्षको ८ महिनाको अवधिमा ५ अर्ब ८६ करोड ४७ लाख रुपैयाँको अलैंची, ३ अर्ब ८२ करोड ९ लाख रुपैयाँको जुस, २ अर्ब ७९ करोड ६९ लाख रुपैयाँको चिया, १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको छुर्पी (कुकुर तथा बिरालोको खाना), ७३ करोड ७७ लाख रुपैयाँको अदुवा र एसियन्सियल आयल ५२ करोड ९५ लाख रुपैयाँको निर्यात गरेको छ ।

 

त्यसैगरी, २५.३ प्रतिशतले कार्पेट, ३५६.४ प्रतिशतले आइरन तथा स्टिलजन्य सामग्री, १५ प्रतिशतले रेडिमेड गार्मेन्ट, १४ प्रतिशतले उलन तथा पस्मिना सल, ११०.५ प्रतिशतले कपर तथा कपरजन्य वस्तु र ४२ प्रतिशतले हस्तकलाको निर्यात बढेको छ ।

 

जुटजन्य वस्तु, फ्याब्रिक, चाउचाउ र पास्ता, हाते कागज, वलन ओभनवेयर, टुथपेस्ट, दाल, छाला, कटन ब्याग र सुनचाँदीको निर्यात भने घटेको छ ।