त्रिशक्तिसहित ६ ब्रान्डमा तेल बेच्ने नारायणी उद्योगले एकै वर्ष गर्‍यो ११ अर्बको व्यापार

त्रिशक्तिसहित ६ ब्रान्डमा तेल बेच्ने नारायणी उद्योगले एकै वर्ष गर्‍यो ११ अर्बको व्यापार
March 2, 2023

नेपाली बजारमा त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा त्रिशक्ति, स्माइल, आरेग्य, श्री, निल्मानी, कुन्दर र निलकमल ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८९ मा बारा जिल्लामा सञ्चालनमा आएको कम्पनीले कच्चा तेल आयात गरी प्रशोधन गरी तीन दशकदेखि उच्च कारोबार गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, भेजिटेबल आयल, तोरीको तेल, सन्फ्लावर तेल र पाम तेल गरी वार्षिक १ लाख १७ हजार मेट्रिक टन क्षमतामा प्रशोधन गर्दै आएको छ ।

 

चाचन फ्यामिलि ग्रुपद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

ग्रुपले तेल प्रशोधनसँगै सिमेन्ट उत्पादन तथा रासायनिक मल क्षेत्रमा व्यापार गर्दै आएको छ । ६ जनाको सञ्चालक समिति रहेको कम्पनीको सम्पूर्ण व्यापार निखिल चचनले गर्दै आएको छ । निखिल चचन विगत ७ वर्षदेखि कम्पनीको निर्देशक छन् ।

देशभर होलसेल पसल, इटहरी र पोखरामा डिपो रहेको कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा बिक्री गर्नुका साथै निर्यात पनि गर्दै आएको छ । कम्पनीले विशेषगरी पश्चिम बंगाल, उत्तर प्रदेश, राजस्थान र दिल्लीमा तेल निर्यात गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा उच्च व्यापार गरेपनि नाफामा भने कमी आएको देखिन्छ । कम्पनीअनुसार सन् २०२१ मा १३.१९ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ५.२८ प्रतिशत मात्रै नाफा कमाएको छ ।

 

त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ अर्ब ९० करोड रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीले व्यापार गरेकोमा निर्यातको हिस्सा १८ प्रतिशत छ । सन् २०२२ को पहिलो अर्धवार्षिकमा निर्यातको हिस्सा ५५ प्रतिशत थियो ।

नेपालबाट प्रशोधन भएको तेल विशेषगरी भारतीय बजारमा निर्यात हुन्छ । तर, भारत सरकारले सन् २०२२ को मे २४ बाट भटमास र सन्फ्वालर तेलको कच्चा पदार्थ आयातको भन्सार शुल्कमा छुट दिएको छ ।

 

भारतले उपभोक्तालाई सहज र सस्तो मूल्यमा तेल प्रदान गर्ने उद्देश्यसहित भन्सार शुल्क घटाएसँगै नेपालबाट निर्यात हुने तेलमा भारी गिरावट आएको छ ।

साथै, उक्त व्यवस्थाले नेपालबाट निर्यात हुने तेलको मूल्यको तुलनामा भारतमै प्रशोधन भएको तेलको मूल्य सस्तो भएपछि निकासीमा कमी आएको कम्पनीको भनाइ छ ।

 

त्यसैगरी, कम्पनीले वार्षिक करिब ११ अर्ब रुपैयाँकोक तेल निर्यात गर्दै आएकोमा यो वर्ष ८ अर्ब रुपैयाँको हाराहारीमा मात्रै व्यापार हुने अनुमान गरेको छ । कम्पनीले अष्ट्रेलिया, क्यानाडा, भारत, अर्जेन्टिना, ब्राजिल, युक्रेन, मलेसिया र इन्डोनेसियाबाट कच्चा तेल आयात गर्दै आएको छ ।

कम्पनीले व्यापार गरेकोमध्ये ९१ प्रतिशत हिस्सा कच्चा पदार्थको मात्रै छ । साथै, कम्पनीले आम्दानी गरेकोमध्ये ४९ प्रतिशत हिस्सा निर्यातको छ । बाँकी हिस्सा भने नेपालमै खपत हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार आन्तरिक बजारमा मात्रै ५ अर्बको व्यापार हुने गरेको जनाएको छ ।

 

For More Updates 

 

Nepal Commodity Logo